July 21, 2026

बालेन नेतृत्व सरकारको १०० दिन असफल, फितलो, अपरिपक्व र विवादास्पदःएमाले

0
shankarp

नेपाल दर्पण, काठमाडौं ।

नेकपा एमालेले बालेन्द्र शाह नेतृत्वको सरकारले पुरा गरेको १०० दिन असफल भएको बताएको छ । एमालेले सरकार अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद रहेको पनि बताएको छ । घोषणापत्र र नीतिमा विरोधाभास, संविधान संशोधन प्रक्रिया अपारदर्शी हुनु, संघीयताविरोधी अध्यास गर्नू र सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छारिता देखाएको एमालेको आरोप छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरेर उक्त कुरा बताएका हुन ।

एमालेले सरकारले राष्ट्रियता र कूटनीतिक क्षेत्रमा पनि असफलता हात पारेको बताएको छ । परराष्ट्र नीतिमा गम्भीर चुक भएको उल्लेख गर्दै एमालेले शाह नेतृत्वको सरकार १०० दिनमा पूर्णत असफल भएको बताएको छ । यस्तै एमालेले भदौ २४ को घटनामा राष्ट्रिय मानव अधिकार आयोगले दोषी ठहर गरेका व्यक्तिहरूलाई अनुसन्धान गरी कारबाही गर्नुको साटो सरकारले संरक्षण दिएर राज्यका महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको आरोप लगाएको छ ।

यस्तै सरकारले सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता अपनाएको पनि एमालेले आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सुशासनका नाममा गैरकानुनी र प्रतिशोधपूर्ण तरिकाले राजनीतिक दलहरूमाथि आक्रमण सुरू गरिएको छ । प्रतिस्पर्धी दलहरूलाई कमजोर बनाउने योजनामा सरकार सामाजिक सञ्जालमार्फत् अफवाह फिँजाई ‘माहोल’ तयार गर्ने र झुट्टा मुद्धामा धरपकड गर्ने जस्ता काम गरिरहेको छ ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको त्यसबेला भएको गिरफ्तारीलाई एमालेले दृष्टान्तका रूपमा प्रस्तुत गरेको छ । “पर्याप्त तथ्य र प्रमाणबिना हतार–हतार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिनु तर १३ दिनसम्म अभियोजनको आधार समेत देखाउन नसक्नु यसको दृष्टान्त हो,” एमालेले भनेको छ । एकातिर आयोग गठन गर्ने तर सँगसँगै बहालवाला मन्त्री र सांसदहरूलाई त्यसको छानबिनको दायराभन्दा बाहिर राखिएको भन्दै एमालेले प्रश्न उठाएको छ । आफ्नालाई समेत नछाड्ने भन्ने प्रधानमन्त्रीको अडान गृहमन्त्रीसम्म आइपुग्दा उदाङ्गिएको एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *