प्रधानमन्त्री बालेनको मुभमेन्टबारे गोप्य सूचना चुहाउने अतिरिक्त महानिरीक्षक वर्खास्त

नेपाल दर्पण, काठमाडौं ।
सरकारले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट हटाएको छ । शुक्रबारदेखि लागू हुने गरी गरिएको कारबाहीमा दाहालले आचरण उल्लङ्घन, अनुशासनहीनता र संगठनको छविमा आँच पु¥याउने काम गरेको मन्त्रालयले जनाएको छ ।
एआइजी दाहालले अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान, प्रतिष्ठा र छविमा आँच पु¥याएको कसुरमा आजदेखि लागू हुनेगरी सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको गृह मन्त्रालयले जनाएको छ । दाहाललाई यही असोज १९ गते निलम्बन गरेको थियो ।
सशस्त्र प्रहरी बलका अर्का एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समितिले दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको थियो । त्यसकै आधारमा बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालय स्रोतका अनुसार, निलम्बनमा परेका एआईजी दाहाल र हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका झापाका इनम सापकोटाबीच सम्पर्क देखिएको थियो । एआईजी दाहालले सापकोटाको ह्वाट्सएपमा प्रधानमन्त्री वालेन शाह (बालेन)को मुभमेन्टबारेको सूचना दिएको खुलेको छ ।
