कांग्रेसको १५ औं महाधिवेशनः मतदान सकियो, मतगणना सीसी क्यामेराको निगरानीमा हुने

नेपाल दर्पण, काठमाडौं ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ । शुक्रबार राति १० बजे मतदान सकिएको हो । मतदान सकिएपछि मतपेटिकामा सिल लगाइएको छ । कुल सात हजार ३९ जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गरेका जानकारी दिइएको छ । महाधिवेशनमा कुल मतदाता ७ हजार ३१७ थिए ।
मतदान सकिए लगत्तै अब मतगणनाको तयारी हुदै छ । मतगणनाका लागि तीन स्थानमा व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा सीसी क्यामेरा जडान गर्ने काम भइरहेको छ भने मतगणना सीसी क्यामेराको निगरानीमा गरिने तयारी छ । मतगणना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सीसी क्यामेराको निगरानीमा गणना गर्ने व्यवस्था मिलाइएको छ । अब मतगणना सुरु भएपछि सभापति पदका उम्मेदवारहरूले प्राप्त गर्ने मतपरिणामप्रति महाधिवेशन प्रतिनिधि तथा कांग्रेसका नेता–कार्यकर्ताको चासो रहनेछ ।
सभापति पदका उम्मेदवारहरूको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ । मतदान सम्पन्न भएसँगै मतगणनाका लागि तयारी अघि बढाइएको छ । सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा रहेको छ । दुवै उम्मेदवारले प्राप्त गरेको मत गणना गर्न राष्ट्रिय सभागृहमा आवश्यक व्यवस्थापनको काम भइरहेको छ ।
