भोटेकोशीमा आएको बाढी विश्वकै लागि चेतावनी होःबालेन शाह

नेपाल दर्पण, काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको भोटेकोशी नदीमा हालै आएको बाढी नेपालका लागि मात्र नभएर विश्वकै लागि पनि चेतावनी भएको बताएका छन् । उनले प्रभावित देशलाई राहत मात्र होइन, जलवायु न्याय, अनुदानमा आधारित वित्त, पुनर्निर्माण सहयोग र दिगो प्रतिरोध क्षमता आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढी स्थानिय त्रासदी मात्रै नभइ विश्वकै लागि चेतावनी भएको बताएका हुन् ।

महासभालाई सम्बोधन गर्दै शाहले आफू विकास, लोकतन्त्र, शान्ति र उज्यालो भविष्यका आशाबारे बोल्न चाहेको भए पनि अहिले मृत्यु, विनाश र विपद्पछि बेपत्ता आफन्तको प्रतीक्षामा रहेका परिवारबारे बोल्न बाध्य भएको बताए । उनले बाढीले केही मिनेटमै सडक, पुल, विद्यालय, घर, जीविकोपार्जन र विकासका उपलब्धि बगाएको उल्लेख गरे । ‘साताअघि, विश्वले नेपालको हिमाली समुदायमा तीव्रताका साथ आएको बाढीको भयावह दृश्य देख्यो,जसलाई धेरैले ‘हिमालयन सुनामी’ भनेका छन्,’उनले भने,’ भोटेकोशी–त्रिशूली विपद् स्थानीय त्रासदी मात्रै थिएन,यो विश्वकै लागि पनि एउटा चेतावनी थियो ।’उनले सो चेतावनीको स्वर सुनियो त भनी महासभामा प्रश्न पनि गरे । उनको प्रश्न थियो म आज तपाईंहरुसँग सोध्छु– ’के हामीले साँच्चै त्यो चेतावनी सुनेका छौँ ?’
प्रधानमन्त्री बालेनले करिब तीन वर्षअघि,संयुक्त राष्ट्रसङ्घका महासचिवले नै नेपालको सगरमाथा क्षेत्रमा उभिएर विश्वको छानोका रुपमा रहेको हिमाल पग्लँदै गएको र त्यसले विश्वलाई नै जलवायु परिवर्तनको खतराको सन्देश दिइरहेको बताएको प्रसङ्ग पनि उल्लेख गरे । उनले भने,’तीन वर्षअघि महासचिवले हाम्रो सगरमाथा क्षेत्रमा उभिएर नजिकिँदै गरेको जलवायु विपत्तिको भयावह अवस्थाबारे मानवतालाई चेतावनी दिनुभएको थियो । विश्वको छानोबाट आएको त्यो चित्कार बुलन्द रूपमा सुनिएन । हामीले नेपालमा सुन्यौँ, हाम्रो समुदायले सुन्यो । विश्वभरका वैज्ञानिकले सुने । उनीहरूले प्रमाणसहित त्यसलाई दोहो¥याइरहे । तर हामी विश्वका राजनीतिक नेतृत्वले त्यो चेतावनीलाई कार्यान्वयनमा बदल्न बेवास्ता ग¥यौं । शाहले भने ।
शाहले विपद्पछि सहयोग पु¥याउने भारत र चीनसहित अन्य मित्रराष्ट्र, संयुक्त राष्ट्रसंघीय निकाय, मानवीय सहायता संस्था, परोपकारी समूह र विश्वभरका व्यक्तिप्रति आभार व्यक्त गरे। उनले नेपाललाई तत्काल उद्धार र राहतसँगै दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माणमा अन्तर्राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
