October 11, 2026

लगातारको वर्षाले विभिन्न स्थानमा खस्यो पहिरो, सुदूरपश्चिममा हाईअर्लट

0
rain

नेपाल दर्पण, काठमाडौं ।
लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको कृष्णभीरसहित सात ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । पहिरोका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ । राजमार्गको ६ ठाउँमा सडकमाथिबाट ढुंगासहितको पहिरो खसेको र २ ठाउँमा सडक भाँसिएको प्रहरीले जनाएको छ ।

कृष्णभीरमा सडक भाँसिएर तथा माथिबाट ढुंगासहितको पहिरो खसेर दुई तर्फी सडक बन्द रहेको छ । ज्वाङखोलामा सडकमा चिरा परेर सडक एक तर्फी बन्द रहेको छ। यस्तै ज्यामिरेघाट, तिङग्राङखानी र बाङगेमोडमा पहिरो खसेर सडक एक तर्फी बन्द रहेको छ । राजमार्गको शीलतबजार, परेवाभीर र चालिसेमा सडकमाथिबाट ढुंगासहितको पहिरोले सडक एक तर्फी अवरुद्ध रहेको छ ।

आज सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतिर सर्दै जाँदा शुक्रबार रातिदेखि पश्चिम नेपालमा वर्षा बढ्ने पूर्वानुमान गरिएको जनाएको छ । शनिबारदेखि पानी पर्ने क्रम थप बढ्ने र प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने जोखिम बढ्ने हनाले सर्तक रहन अपिल गरिएको छ ।

आज राति प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तै, पहाडी तथा तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *