ओलीको ‘दम्भ, घमण्ड र गुटगत सोच’ यथावत भन्दै 4 उपाध्यक्षहरूले तत्काल मागे राजीनामा
चा
नेपाल दर्पण, काठमाडौं ।
नेकपा (एमाले) पार्टी अध्यक्ष केपी शर्मा ओलीले अब राजिनामा दिनुपर्ने माग उठेको छ । एमालेका चार जना उपाध्यक्षहरूलेको ओलीले तत्तकाल राजीनामा दिनुपर्ने बताएका छन । पाँचमध्ये चार उपाध्यक्षले पार्टी जोगाउन र संगठन पुनर्गठन गर्नका लागि अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने अडान राखेका हुन् । बैठकमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले एमाले कमजोर अवस्थामा पुग्नुको मुख्य जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्दै ओलीको बिदाइ र नेतृत्व हस्तान्तरणको माग गरेका हुन् ।
प्रतिनिधि सभा निर्वाचनपछि भक्तपुरको गुण्डुस्थित ओली निवासमा शुक्रबार बसेको केन्द्रीय सचिवालयकोे बैठकमा अध्यक्ष ओलीले पार्टी संकटमा रहेको बेला नेतृत्वको प्रतिरक्षा गर्नुपर्नेमा पुनर्गठनको अभियान चलाएको भन्दै आक्रोश पोखेपछि उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले तुरुन्तै प्रतिवाद गरेका थिए । चार उपाध्यक्षहरुले राजीनामा मागेपछि बैठक तनावपूर्ण भएको थियो । बैठकमा ओलीले ‘नेतृत्व र पार्टी आन्दोलनको रक्षा नगर्नेहरूलाई केको जिम्मेवारी ? यस्तो बेलामा पुनर्गठन भनेर हिँड्नेहरूलाई अनुशासनको कारबाही हुन्छ’ भन्दै चेतावनीको भाषा प्रयोग गरेपछि उपाध्यक्ष गुरुङले त्यसको तत्काल प्रतिवाद गरे । गुरुङले ‘एमाले तपाईंले मात्रै बनाएको पार्टी हो ? एमाले तपाईंको प्राइभेट कम्पनी हो ? यो पार्टीमा हाम्रो र अरू साथीहरूको योगदान छैन ? कसलाई दिनुभएको धम्की’ भन्दै आक्रोश पोखेका थिए । दुई नेताबीचको यो चर्को भनाभनले केहीबेर बैठकको माहौल निकै अशान्त बनेको थियो ।
उपाध्यक्ष पौडेलले पार्टीको कार्यकारी कमिटीमा ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने पूर्वनिर्णय ‘त्रुटिपूर्ण’ रहेको औंल्याउँदै उनले ती व्यवस्थालाई पुनः ब्युँताउनुपर्ने जोड दिए । अन्य उपाध्यक्षहरूले पनि वर्तमान कार्यशैली, नीति र दृष्टिकोणमा बृहत् समीक्षा हुनुपर्ने अडान राखेका थिए । दुई नेताबीचको चर्को भनाभनले केहीबेर बैठकको माहौल निकै अशान्त बनेको थियो। एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पार्टी इतिहासमै पहिलोपटक सचिवालय बैठकमा यसरी नेताहरूले खुलेर र सघन रूपमा आफ्ना विचारहरू राखेका हुन् ।
नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानपूर्वक अध्यक्ष पदबाट विदा लिन आग्रह गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो स्टाटस लेख्दै उनले एमालेको वर्तमान अवस्था र नेतृत्व शैलीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । शाक्यले एमाले गौरवपूर्ण इतिहास बोकेको पार्टी भए पनि निर्वाचनपछि कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै पार्टीलाई पुनः आन्दोलनको नेतृत्वदायी शक्तिका रूपमा स्थापित गर्न सकिने बताएकी छन् । उनले अध्यक्ष ओलीप्रति संकेत गर्दै ‘दम्भ, घमण्ड र गुटगत सोच’ अझै कायम रहेको आरोप लगाएकी छन् । शाक्य यही बैठकबाट अध्यक्ष ओलीले सम्मानपूर्वक पदबाट विदा लिनु उचित हुने उल्लेख गर्दै एमालेलाई पुनर्जीवित गर्न व्यक्तिपूजा र चाकरीभन्दा देश र जनताको हितमा केन्द्रित राजनीति आवश्यक रहेको बताएकी छन्।
बैठकपछि नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टी सचिवालय बैठकमा भएका कुरा अतिरञ्जित पाराले बाहिर ल्याइएको आरोप लगाएका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पार्टी अघि बढ्नुपर्छ भन्नेमै धारणा रहेको आफूले बुझेको पनि दावी गरे । बोल्ने नेताहरूले आफूलाई लागेका विषयवस्तुहरू स्पष्ट रूपमा राखेका बताउँदै उनले नेतृत्व परिवर्तन हुनैपर्छ भन्ने कुरा त कसैले नभनेका दावी गरे ।
