June 3, 2026

कोशी प्रदेशमा सरकार फेर्ने तयारी, कांग्रेस–एमालेले पालैपालो चलाउने

0
oliv1

नेपाल दर्पण, काठमाडौं ।

केन्द्रमा सरकार फेरिएपनि प्रदेशमा भने पहिले मानिएका प्रमुख दल कांग्रेस एमालेको हालीमुहाली यथावतनै देखिएको छ । यिनीहरुको नियत र सत्ता केन्द्रित राजनीतिमा कुनै परिवर्तन आएको छैन । मधेश प्रदेशको सत्ता समीकरण फेरिएसँगै कोशी प्रदेशमा पनि एमाले र कांग्रेसले आलोपाले गरेर सरकार चलाउने तयारी थालेको बुझिएको छ । स्मरण रहोस गत जेठ ७ गते मधेश प्रदेशमा जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई हटाएर कांग्रेस नेतृत्वको सरकारमा नेकपा एमाले सहभागी भएको थियो ।

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुनसरीको लौकहीमा शुक्रबार आयोजित प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशपछि अब कोशी प्रदेशमा सत्ता परिवर्तन हुने बताएका छन् । अब बन्ने नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्ने उनको भनाइ थियो । तर, एमाले कांग्रेसलाई नेतृत्व दिन तयार छैन । तर, अध्यक्ष ओली चाहिँ मुख्यमन्त्री फेर्ने पक्षमा छन् । शीर्ष नेतृत्वमा सरकार परिवर्तनको गृहकार्य भइरहदा प्रदेशका मुख्यमन्त्री कार्की पनि हच्किएका छन् । सत्ता फेरबदल हुने सम्भावनाकाबीच उनले हतार–हतार प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक गरे । जेठ ६ गते प्रदेशसभाको बजेट अधिवेशन सुरु भएको थियो । ७ गते नै उनले नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

नेकपा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो सरकार पुनर्गठनको विषयमा केन्द्रमा सामान्य छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको बताउँछन् तर प्रतिनिधिसभा निर्वाचनको मतपरिणामपछि एमाले अध्यक्ष केपी शर्मा ओली कोशीको नेतृत्व एमालेले नै गर्ने तर पात्र मात्रै फेर्ने पक्षमा छन् । ओलीले मुख्यमन्त्रीमा कार्कीको विकल्पमा उनले तिलकुमार मेन्याङ्बोलाई अघि सार्न खोजेका छन् । मेन्याङ्बो एमाले संसदीय दलका उपनेता हुन् । तर,कांग्रेसले संसदीय दलका नेता उद्धव थापालाई अघि सारेको छ । बजेट अघि नै सरकार फेर्नुपर्ने पक्षमा नेपाली कांग्रेस छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *