राष्ट्रसंघमा प्रधानमन्त्री बालेनले १३१ देशका राष्ट्रप्रमुखको अगाडी सम्बोधन गर्ने

नेपाल दर्पण, काठमाडौं ।
संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको नेतृत्वको नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम तय भएको छ । महासभाको उच्चस्तरीय बहस २२ देखि २८ सेप्टेम्बर, २०२६ सम्म अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुनेछ ।
उक्त महासभामा १३१ देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने भएका छन् । “संयुक्त राष्ट्रसंघबाट प्राप्त जानकारीअनुसार ८१ राष्ट्रका राष्ट्रप्रमुख र ५० देशका सरकार प्रमुख ८१ औँ महासभामा सहभागी हुने कार्यक्रम तय भएको छ । महासभाको उच्चस्तरीय बहसमा प्रधानमन्त्री शाहले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस महासभामा नेपालले ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्य निर्माणका लागि कार्य आह्वान विषयक सहायक कार्यक्रम’ आयोजना गर्दैछ । विश्वव्यापी जलवायु परिवर्तनका कारण खासगरी हिमाली क्षेत्रमा परेका नकारात्मक प्रभाव र यसबाट सिर्जित विनासकारी परिणामका बारेमा छलफल गरी विश्व समुदायको ध्यानाकर्षण गर्नु यस कार्यक्रमको मूल उद्देश्य रहेको छ । यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनाल अतिकम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू, असंलग्न मुलुकहरू, जि–७७ र चाइनालगायतका मन्त्रीस्तरीय बैठकहरूमा सहभागी हुनेछन् ।
साथै, उनले संयुक्त राष्ट्रसङ्घले आयोजना गरेका अन्य उच्चस्तरीय छलफल तथा साइड इभेन्टहरूलाई पनि सम्बोधन गर्नेछन् । यसका अतिरिक्त परराष्ट्रमन्त्री खनालले छिमेकी मुलुकलगायत विभिन्न मित्रराष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसङ्घका उच्च पदाधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव राईलगायतका उच्चपदस्थ पदाधिकारीहरू सहभागी हुनेछन् ।
“नेपालमा गत वर्ष भएको जेनजी आन्दोलन, त्यसपछि भएको सफल निर्वाचन, सोमार्फत ठूलो जनमतसहित गठन भएको वर्तमान सरकारका प्राथमिकता लगायतका विषयहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न र अन्तर्राष्ट्रिय सहयोग एवं सद्भावको निरन्तरता तथा बढोत्तरीका लागि उच्चस्तरबाटै आह्वान गर्न यो महासभा महत्वपूर्ण अवसरको रूपमा रहेको छ ।
