June 3, 2026

सुकुमवासीलाई चाँडो जग्गा वितरण गर्छौःबालेन, हटाउन बल प्रयोग गर्दैनौंःसस्मित पोखरेल

0
balensp

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहले देशभर लाखौं सुकुमवासी भएको भन्दै अतिक्रमणकारी र सुकुमवासी छुट्याइने बताएका छन् । बालेनले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै भनेका छन्, ‘देशभरका वास्तविक सुकुमवासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं । वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ ।’ काठमाडौंका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित रहेको पनि उनले उल्लेख गरेका छन् ।

हरेक वर्षको बाढीका कारण काठमाडौंका नदीकिनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य बिर्सिएको हो ? भन्दै उनले प्रश्न पनि गरेका छन् । ‘यो वर्षौंदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु,’ उनले भनेका छन् । दुर्घटना आउनुभन्दा अघि नै त्यसबारे सोच्न उपयुक्त ठानेर सरकारले काम अघि बढाएको प्रधानमन्त्री शाहको भनाइ थियो ।

सरकारले नदी किनारमा रहेका सुकुम्वासी बस्तीलाई हटाउन बल प्रयोग नगर्ने स्पष्ट पारेको छ । मन्त्रिपरिषद् बैठक सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सुकुमबासी बस्ती हटाउन जबरजस्ती प्रहरी बल प्रयोग वा डोजर चलाउने कुनै योजना नरहेको बताएका हुन ्। उनले मनसुनको समयमा बाढी आउँदा नदी किनारमा रहेका सुकुम्वासी बस्ती निकै प्रभावित भएकाले उनीहरूलाई उचित स्थानमा स्थानान्तरण गर्न खोजिएको प्रस्ट पारे। देशका सबै ठाउँका सुकुम्वासीको दीर्घकालीन समाधान गरिने भन्दै उनले सुकुम्वासीमाथि विगतमा हुने गरेको राजनीति अव नहुने धारणा राखे ।

प्रवक्ता पोखरेलले प्रारम्भिक चरणमा बाढीको जोखिम रहेका उपत्यकाका तीनवटा सुकुम्वासी बस्ती हटाइने र सुरक्षित स्थानमा राखिने बताए । उनले स्थानान्तरणका क्रममा वास्तविक सुकुम्वासीहरूको पहिचान समेत गरिने बताए । प्रवक्ता पोखरेलले संसदलाई पर्याप्त बिजनेस दिनका लागि संसद् अधिवेशन स्थगित गरिएको उल्लेख गरे । सरकार अध्यादेश ल्याउने पक्षमा नरहेको भन्दै उनले संसद् स्थगित गर्नु ठूलो विषय नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *