राजदूत नियुक्तिका लागि पहिलोपटक खुल्ला दरखास्त आह्वान
नेपाल दर्पण, काठमाडौं ।
परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिको लागि आवेदन खुलाएको छ । सरकारले राजदूत नियुक्तिको सिफारिसका लागि पहिलोपटक खुल्ला दरखास्त आह्वान गरेको हो । मन्त्रालयले आउँदो जुन ५ भित्र इच्छुक व्यक्तिले दरखास्त दिनुपर्नेछ । मन्त्रालय दरखास्तका लागि चाहिने योग्यता र कार्य क्षेत्रसहितको निर्देशिका पनि सार्वजनिक गरेको छ । राजदूत हुनका लागि कम्तीमा ३५ वर्ष पुरा भएको हुनुपर्नेछ । विशिष्ट श्रेणीकोसरहको यो पदका लागि कम्तीमा स्नातक तह अध्ययन गरेको हुनुपर्नेछ । स्नातक भन्दा माथिको शैक्षिक योग्यता र कार्यअनुभव योग्यतामा प्लस हुनेछ ।
राजदूतको लागि आवेदन दिने अन्तिम मिति २०८३ जेठ २२ गतेसम्म तोकिएको छ ।“मन्त्रालयले विभिन्न देशहरूमा नेपालको राजदूत पदमा नियुक्तिको लागि दक्ष र योग्य नेपाली नागरिकहरूबाट आवेदनहरू माग गर्दछ,” ट्रम्स अफ रिफरेन्स एम्बेस्डर अफ नेपालमा जनाइएको छ । नेपालको इतिहासमा पहिलोपटक राजदूत नियुक्तिको लागि खुला दरखास्त आह्वान गरिएको हो । परराष्ट्रले चीन, अमेरिका, भारतलगायत १३ देशमा राजदूत नियुक्ति गर्न आवेदन माग गरेको छ । ट्रम्स अफ रिफरेन्स एम्बेस्डर अफ नेपालमा राजदूत हुनको लागि १५ वटा न्यूनतम योग्यता निर्धारण गरिएको छ । योग्यतामा राजदूतको लागि आवेदन दिने व्यक्ति कम्तीमा ३५ वर्षको नेपाली नागरिक हुनुपर्नेछ । नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक उपाधि हासिल गरेको हुनुपर्ने छ ।
यस्तै, सरकारी सेवाबाट बर्खास्त गरिएको वा भविष्यमा सरकारी जागिरको लागि अयोग्य घोषित गरिएको व्यत्तिले आवदेन दिन पाउने छैनन् । विदेशको कुनै पनि स्थायी वा अस्थायी बसोबास अनुमतिपत्र वा अध्यागमन लाभ धारण गरेको व्यक्तिले पनि आवेदन दिन नपाउन उल्लेख छ । राजदूतमा हुनुपर्ने न्यूनतम योग्यतामा भ्रष्टाचार वा नैतिक पतनसँग सम्बन्धित कुनै पनि अपराधको लागि अदालतबाट दोषी ठहरिएको हुनु नहुने उल्लेख छ । नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा द्विपक्षीय÷बहुपक्षीय कूटनीतिमा अनुभव भएको र नेपालको प्रतिनिधित्व गर्न सक्षम व्यक्तिले मात्र आवेदन दिन पाउनेछन् । देश वा पदस्थापना गर्ने संस्थामा गरिने प्रमुख कार्यहरूसँग सम्बन्धित ज्ञान तथा अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदकमा अंग्रेजी भाषाको राम्रो ज्ञान हुनुपर्नेछ र आयोजक देशको आधिकारिक भाषाको ज्ञान भए थप राम्रो हुनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार दरखास्तहरूलाई परराष्ट्र मन्त्रालय स्क्रिनिङ गरी मन्त्रिपरिषद्मा पठाउने छ । मन्त्रिपरिषद्ले योग्यताअनुसार राजदूतको सिफारिस गर्नेछ । उक्त सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइ पछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । राजदूतहरूले नियुक्तिपछि परराष्ट्र मन्त्रालयमा कार्यसम्पादन सम्झौता गरी कार्याक्षेत्रमा जानुपर्नेछ ।
