महान् गायिका आशा भोसलेको निधन, बलिउडमा छायो शोक

नेपाल दर्पण, मुम्बई ।

भारतीय महान् गायिका आशा भोसलेको निधन भएको छ । सन् १९३३, सेप्टेम्बर ८ मा जन्मिएकी आशाको ९२ वर्षको उमेरमा भारतको मुम्बईस्थ्ति ब्रिच क्यान्डी अस्पतालमा आइतबार (चैत २९) निधन भएको हो । हृदयाघात भएपछि उनलाई शनिबार उक्त अस्पतालमा भर्ना गरिएको थियो । उनको अन्त्येष्टि सोमबार त्यहाँ गरिनेछ । भोसलेको मृत्युकोे खबरले अहिले सामाजिक सञ्जालमा शोकको लहर फैलाएको छ । आशा भोसलेका छोरा आनन्द भोसलेले मिडियालाई बताएअनुसार उनकी आमाको निधन भएको छ । मानिसहरूले सोमबार बिहान ११ बजे अन्तिम श्रद्धाञ्जली दिन सक्नेछन् र उनको अन्त्येष्टि अपराह्न ४ बजे शिवाजी पार्कमा हुनेछ ।

आशालाई खासगरि महाराष्ट्रमा आशा ताइ भनेर पुकारिने गरिन्थ्यो । उनको मृत्युपछि सम्पूर्ण राष्ट्र र बलिउडमा शोक छाएको छ । भारतीय संगीत इतिहासमा आशा भोसलेको नाम उच्च सम्मानका साथ लिइन्छ । उनले आफ्नो करियरमा ८ दशकभन्दा बढी समयदेखि संगीत क्षेत्रमा योगदान दिएकी छिन् । मंगेशकरकी बहिनी आशाले सांगीतिक करियरमा १२ हजारभन्दा बढी गीतमा आवाज दिएकी छिन् । उनका ‘दम मारो दम’, ‘पिया तु अब तो आजा’, ‘चुरा लिया है तुमने’लगायत गीत सदाबहार छन् । आशा ९ वर्षकी हुँदा उनका पिताको निधन भयो । त्यसपछि परिवारको खर्चपानी जुटाउन दिदी लता मंगेशकरसँग मिलेर गीत गाउन सुरु गरेकी थिइन् । आशालाई राष्ट्रिय पुरस्कार, फिल्मफेयर पुरस्कार, दादासाहेब फाल्के पुरस्कार, र पद्मविभूषण जस्ता प्रतिष्ठित पुरस्कारहरूले सम्मानित गरिएको छ ।

आशाले हिन्दी भाषामा पहिलोपटक चलचित्र ‘चुनरिया’ (१९४८) मा ‘सावन आया रे’ गीत गाएकी थिइन् । त्यसपछि पछाडि फर्किनुपरेन । उनले फिल्मी गीत, पप, गजल, भजन, शास्त्रीय संगतीसहित विभिन्न १४ भाषाका गीतमा आवाज दिइसकेकी छिन् । आशा भोसले ग्रामी अवार्डका लागि नामांकित हुनेवाली पहिलो भारतीय गायिका पनि हुन् । उनलाई सन् १९९७ मा यो पुरस्कारका लागि नामांकित गरिएको थियो । यस्तै, सन् २००० मा दादा साहेब फाल्के, सन् २००८ मा पद्मविभूषण पुरस्कारबाट सम्मानित भइसकेकी छिन् । सन् २०११ मा उनको नाम गिनिज बुकमा लेखिइसकेको छ ।

स्मरण रहोस, आशा भोसले र उनकी दिदी लता मंगेशकरको एउटै उमेरमा मृत्यु भएको छ । लता मंगेशकरले फेब्रुअरी ६, २०२२ मा ९२ वर्षको उमेरमा अन्तिम सास फेर्नुभयो भने आशा भोसलेको पनि ९२ वर्षको उमेरमा निधन भयो । दुवै जना एकै दिन, आइतबार बित्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *