इरान अमेरिका वार्ता असफल, थप यद्ध चर्किने खतरा !



नेपाल दर्पण, मुम्बई ।
इस्लामाबादमा संयुक्त राज्य अमेरिका र इरानबीच २१ घण्टासम्म चलेको ‘म्याराथन’ वार्ता असफल भएको छ । यस विफलताले मध्यपूर्वमा जारी दुईहप्ते युद्धविराम समाप्त भई पुनः भीषण द्वन्द्व सुरु हुने आशंका बढाएको छ । अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामावादबाट प्रस्थान गरेका छन् ।
शनिबार पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू चिन्तित नभएको बताएका छन् । ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले युद्धमा अमेरिका अगाडि रहेको दाबी गरे । इरानलाई जसरी पनि जित्ने उनको भनाइ छ । इरानको नौसेनासँग १५८ जहाजहरू रहेको र उनीहरूसँग २८ वटा माइन ड्रपरहरू रहे पनि ती सबै डुबिसकेको उनले दाबी गरेका छन् ।
वार्ता किन विफल भयो ?
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताबाट कुनै ठोस नतिजा ननिस्किएको स्पष्ट पारेका छन् । उनले भने, “हामीले २१ घण्टासम्म गम्भीर छलफल ग¥यौँ । अमेरिकाले आफ्नो ‘अन्तिम र उत्कृष्ट’ प्रस्ताव दिएको छ, अब निर्णय गर्ने पालो इरानको हो ।” मुख्य विवादको केन्द्र इरानको युरेनियम संवर्धन (परमाणु कार्यक्रम) बनेको छ । इरान यसलाई पूर्ण रूपमा रोक्न तयार देखिँदैन, जबकि संयुक्त राज्य अमेरिका यसलाई पूर्ण रूपमा अन्त्य गर्न चाहन्छ । रोचक रूपमा, भान्सले प्रेस सम्मेलनमा होर्मुज जलमार्गसम्बन्धी विषयमा कुनै टिप्पणी गरेनन् ।
ट्रम्पको कडा अडान, इजरायलको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको परिणामप्रति उदासीनता देखाउँदै भने, “सम्झौता होस् वा नहोस्, हामीलाई केही फरक पर्दैन । हामीले पहिले नै जितिसकेका छौँ ।” यसले अमेरिकाले अझै दबाबमूलक रणनीति अपनाइरहेको संकेत गरेको विश्लेषण गरिएको छ । अर्कोतर्फ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भिडियो सन्देशमार्फत सैन्य विकल्प अझै खुला रहेको संकेत दिएका छन् । उनले भने, “इरानविरुद्धको सैन्य अभियान सकिएको छैन । हामी अझै लडिरहेका छौँ । इरानको युरेनियम कार्यक्रमलाई कुनै पनि माध्यमबाट निष्क्रिय बनाउनु आवश्यक छ ।”
होर्मुज जलमार्ग : तनावको केन्द्र
विश्वको ऊर्जा आपूर्तिको ‘लाइफलाइन’ मानिने होर्मुज जलमार्ग अहिले तनावको मुख्य केन्द्र बनेको छ । अमेरिकाले इरानले बिछ्याएका बारुदी सुरुङ हटाउन दुईवटा युद्धपोत पठाएको दाबी गरेको छ । तर, इरानले भने आफ्नै चेतावनीका कारण अमेरिकी जहाजहरू फर्किएको दाबी गर्दै पुनः प्रवेश गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ । इरानले आफ्ना सर्तहरू पूरा नभएसम्म यो जलमार्ग पूर्ण रूपमा नखोल्ने अडान दोहो¥याएको छ ।
अब के होला ?
हालको अवस्था अत्यन्त अनिश्चित छ । दुईहप्ते युद्धविरामको समय सकिन लाग्दा अब दुई प्रमुख सम्भावना देखिएको बताइएको छ । यसमा इरानले अमेरिकी प्रस्ताव स्वीकार गर्ने सम्भावना न्यून छ र कूटनीति पूर्ण रूपमा विफल भई पुनः व्यापक युद्ध सुरु हुने सक्ने आकलन गरिएको छ । यदि द्वन्द्व फेरि चर्कियो भने यसले केवल मध्यपूर्वमै सीमित नभई विश्व अर्थतन्त्र, विशेषतः तेल आपूर्ति र ऊर्जा सुरक्षामा गम्भीर असर पार्न सक्ने विश्लेषण गरिएको छ । यसबीच चीनको सम्भावित कूटनीतिक भूमिकालाई पनि विश्व समुदायले चासोका साथ नियालिरहेको बताइएको छ । एजेन्सीको सहयोगमा

