नेपालमा स्थिर सरकार छ ढुक्कले लगानी गर्नुहोसःभारतीय उद्यमीहरुलाई राजदूत शर्माको आग्रह



दिनमणी आर.पाण्डे,
नेपाल दर्पण, मुम्बई ।
नेपाल र भारतबीचको व्यापारिक, आर्थिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज (इसीसीआई) महाराष्ट्र इकाइले मुम्बईमा “इन्डो–नेपाल बिजनेस ट्रेड प्रोग्राम तथा ट्रेड प्रमोशन इनिसियटिभ” कार्यक्रमको आयोजना गरेको छ । मुम्बईको नजिकै स्थित ठाणेको प्लानेट हलिउडमा गत आइतवार आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी भारतका लागि नेपालका राजदूत शंकर प्रसाद शर्माको गरिमामय उपस्थिति रहेको थियो । साथै नेपाल दूतावासका वित्त सचिव अम्बिका जोशी लगायत विशिष्ट व्यक्तित्वहरूका साथै उद्यमीहरुकोे सहभागिता रहेको थियो ।



कार्यक्रममा प्रमुख अतिथी राजदूत शर्माले नेपालमा अहिले स्थिर र बहुमतको सरकार हुनाले नेपालमा लगानी गर्ने राम्रो अवसर भएको भारतीय उद्यमीहरुलाई बताएका थिए । शर्माले, ‘पहिले व्यापारीहरुले नेपालमा अस्थिर सरकारको गुनासो गर्थे, अब त्यो अवस्था हटेको र नेपालमा अब व्यापार, लगानी र आर्थिक गतिविधि विस्तारका लागि उपयुक्त समय भएको बताए । हालै सम्पन्न निर्वाचनपछि स्थिर सरकार गठन भएको र यसले लगानीका लागि विश्वासिलो वातावरण सिर्जना गरेको उनको तर्क थियो । उनले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता अभिवृद्धि तथा डिजिटल सेवा विस्तारमा जोड दिएकाले नयाँ तथा पुराना सबै लगानीकर्ताहरूका लागि सहज र विश्वासिलो वातावरण निर्माण गर्ने आश्वासन उद्यमीहरुलाई दिए । उनले नेपाल–भारतबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै जलविद्युत्, पर्यटन, कृषि, जडीबुटी तथा सूचना प्रविधि लगायत विभिन्न क्षेत्रमा काम गर्ने अवसर रहेको उल्लेख गरे । उनले थपे, ‘नेपालमा अहिले लगानीका प्रशस्त सम्भावना छन्, त्यस्को सदुपयोग गर्ने समय आएको छ’ ।



शर्माले यस्ता कार्यक्रमहरुले भारत–नेपालबीच व्यापारिक सम्बन्ध सुदृढ बनाउन, नयाँ लगानीका अवसरहरू सिर्जना गर्न तथा व्यवसायिक सहकार्य विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने बताए । शर्माले इसीसीआईलाई नेपालमा पनि यसप्रकारको कार्यक्रम गर्न आग्रह समेत गरेका थिए । उनले बेलाबेलामा यस्ता कार्यक्रमहरूले उद्यमीहरूलाई सघाउने र नीतिगत खाडलहरू पहिचान गर्न ठूलो सहयोग हुने उल्लेख गरे । नेपालको पर्यटन प्रवद्र्धन, जलविद्युत, र डिजिटल क्षेत्र लगायत अन्य विभिन्न क्षेत्रमा काम गर्ने अवसरहरु रहेको पनि बताए । उनले भारत नेपालका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार हुनुको साथै नेपालको करिब ६०% भन्दा बढी व्यापार भारतसँग हुने हुनाले भारतका लागि नेपालमा लगानी गर्ने ठूलो अवसर रहेको बताए ।



कार्यक्रममा एभरेस्ट चेम्बरका केन्द्रीय अध्यक्ष युवराज बरालले नेपालमा लगानीका लागि प्रचुर संभावना रहेकाले यसका लागि ईसीसीआईले महत्वपूर्ण खेल्ने बताए । यसका लागि इसीसीआइले अहिले लगानीसम्बन्धी सम्भावना र प्रक्रियाबारे विस्तृत अध्ययन गरिरहेको बरालले जानकारी दिए । उनले नेपालमा व्यापार व्यवसाय गर्दा उद्यमीहरुलाई हुने लाभको बारेमा पनि बताएका थिए , उनले भारतीय उद्यमीहरुलाई भारत र नेपाल बीचको खुला सिमानाले व्यापारलाई धेरै सजिलो र छिटो बनाउँने, पारदर्शी व्यापार सन्धिको कारणले गर्दा, नेपालले भारतमा भन्सारमुक्त निर्यातबाट लाभ उठाउँन सकिने, डिजिटल भुक्तानी र अन्य प्रविधिहरू मार्फत व्यापारलाई थप सहज बनाउने कुरा विस्तृत रुपमा बताएका थिए । यस्तै उनले हाल १४ भन्दा बढी राज्यमा सक्रिय रहेको ईसीसीआईले आगामी दिनमा अन्य राज्यहरूमा पनि शाखा विस्तार गर्ने योजना बनाएको जानकारी दिए । कार्यक्रममा ईसीसीआई मुम्बई शाखा संस्थापक तथा संरक्षक राजकुमार बरालले प्रवासमा रहेका नेपाली व्यवसायीहरूबीच एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिए । उक्त कार्यक्रममा अखिल भारतीय ट्रान्सपोर्ट वेलफेयर एसोसिएसनका अध्यक्ष तथा बिआरएल लजिस्टिक लिमिटेडका प्रबन्ध निर्देशक अशोक गोयलले नेपालमा व्यापार तथा लगानीका सम्भावनाबारे आफ्नो धारणा व्यक्त गरेका थिए ।



यस्तै कार्यक्रममा संस्थाका अन्तराष्ट्रिय संयोजक मनोज कोटलले नेपाल–भारतबीचको ऐतिहासिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्धबारे प्रकाश पारेका थिए । संस्थाका उपाध्यक्ष भरत कृष्ण रावलले दुई देशबीच भाषा र संस्कृतिको संरक्षण र प्रवद्र्धनको महत्वमा जोड दिए । कार्यक्रममा इसीसीआइका प्रमुख पदाधिकारीहरू राजकुमार बराल (संरक्षक), जनकराज ज्ञवाली (प्रमुख सल्लाहकार), शिव विष्ट (उपाध्यक्ष – आईटी तथा वित्त), जमुना खत्री (उपाध्यक्ष – स्वास्थ्य तथा सामाजिक कल्याण),विष्णु काफ्ले (महासचिव), लक्ष्मण खत्री (सचिव) तथा प्रकाश रावल (कोषाध्यक्ष) लगायतको उपस्थिति रहेको थियो । यसैगरी भावना कौशिक (अडिटर तथा कार्यकारी सदस्य), सहित अन्य सदस्यहरू—दीपक ढकाल, , लक्ष्मण पाण्डे, गणेश पाण्डे, मोतीलाल न्यौपाने, सृष्टि लामा, शीतल राजे तथा पुणे देखि देवीलाल न्यौपानेको सहभागिता रहेको थियो । कार्यक्रममा ईसीसीआई मध्यप्रदेश र गुजरात शाखाका सदस्यहरूको समेत सहभागिता थियो ।



कार्यक्रमकै क्रममा ईसीसीआई महाराष्ट्र शाखाले सुनील बरालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरेको थियो । बराल पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । राजदूतको उपस्थितीमा नयाँ निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण गराइएको थियो । कार्यक्रममा व्यापारीक छलफल तथा बिटुबी नेटवर्किङ सत्र सम्पन्न गरिएको थियो । कार्यक्रममा सहभागि हुन भारतका विभिन्न क्षेत्रबाट आएका उद्यमी तथा पदाधिकारीहरुलाई इसीसीआइ महाराष्ट्रका अध्यक्ष सुनिल बरालले विशेष धन्यवाद व्यक्त गरेका थिए । इसीसीआइ भारतका महासचिव डा मोहन कार्कीद्धारा सञ्चालित उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।

