June 3, 2026

विमानस्थलमा यात्रुलाई दुःख दिने, गुण्डागर्दी, ठगी, बिचौलिया लगायतमा संलग्नहरू पक्राउ

0
airport

नेपाल दर्पण, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा यात्रुलाई दुःख दिएको आरोपमा १८ जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार विमानस्थलमा आएका यात्रुलाई जबरजस्ती तान्ने, हैरानी दिने, विभिन्न प्रलोभन देखाएर आफू सम्बन्धित होटलमा लैजाने र त्यसबापत कमिसन लिनेहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीका सूर्य माझी, बाँकेका एकेश तामाङ, पाँचथरका प्रेम कुमार मगर, सिन्धुलीका राजकुमार राई, मकवानपुरका मगलमान घलान, पाँचथरका खगेन्द्र लिम्बू, मोरङका आशिस खतिवडा, मकवानपुरका विश्व मोक्तान, धनुषाका वीरेन्द्र झा, सिरहाका लडा मिया, मोरङका पर्शुराम राई, रामेछापका सन्तु तामाङ, धनुषाका रघुवीर साह, महोत्तरीका राजिब कुमार रावत, धनुषाका सरोज कुमार महतो, मकवानपुरका अजय लामा, झापाका केशव लिम्बू, बझाङका रामप्रसाद जोशी र बझाङका विमलराज जोशी छन् । उनीहरूमाथि थप अनुसन्धान गरिरहेको प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।

यस्तै गुण्डागर्दी, ठगी, बिचौलिया लगायतमा संलग्नहरूलाई पनि प्रहरीले रातभर अप्रेशन गरेर पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट सो संख्यामा विभिन्न मान्छेहरू पक्राउ परेको एसएसपी थापाले बताए । ‘ठमेल, विमानस्थल लगायतका क्षेत्रामा मान्छे तातातान गर्ने, पहिल्यैदेखि गुण्डागर्दीमा संलग्न, बिचौलिया लगायतका १९५ जनालाई नियन्त्रणमा लिएका छौं,’ एसएसपी थापाले भने । उनीहरूविरुद्ध प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *