रास्वपाले डीपी अर्याललाई सभामुख बनाउने, ‘बादल’को अभिव्यक्तिप्रति तीखो आपत्ति

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने निर्णय गरेको हो । संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो ।

“संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले उपसभापति डीपी अर्याललाई सभामुख बनाउन गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ,” रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन् ।

नेकपा एमालेका संसदीय दल नेता रामबहादुर थापा ‘बादल’ले आज संसदमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले तीखो आपत्ति जनाएका छन् । बादलले रास्वपले प्राप्त गरेको मत एल्गोरिदम, कृत्रिम बुद्धिमत्ता र विदेशी शक्तिको प्रभावबाट आएको टिप्पणी गरेपछि विवाद चर्किएको हो । झाले उक्त भनाइले जनताको मतलाई विदेशी शक्तिसँग जोडेर अपमान गरेको बताएका छन् । उनले मतदाताको स्वतन्त्र निर्णयलाई यसरी व्याख्या गर्नु अनुचित भएको उल्लेख गर्दै यस्तो अभिव्यक्ति जनमतको अवमूल्यन भएको बताएका छन् ।

उनले भाद्र २३ गते भएको घटनाप्रति माफी माग्नुको सट्टा यस्तो अभिव्यक्ति आउनु झनै आपत्तिजनक भएको धारणा राखेका छन् । कसैले आफूलाई चुनौती दिन नसक्ने र आफ्नै भनाइ मात्र मान्नुपर्ने जस्तो सन्देश दिने शैली गलत भएको उनको भनाइ छ । झाले एमालेका नेताबाट आएको अभिव्यक्तिले मतदाताको भावनामा चोट पुगेको भन्दै आफूले मतदाताप्रति माफी माग्न चाहेको बताएका छन् । उनले एमाले नेतृत्वले कहिल्यै माफी नमागेको आरोप लगाउँदै आफ्नो पार्टी भने जिम्मेवारी लिन तयार रहेको उल्लेख गरेका छन् । झाले चुनावमा हारपछि यस्ता अभिव्यक्ति आउनु स्वाभाविक भए पनि मतदाताको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *