ओली र लेखक पक्राउ, सडक प्रदर्शनमा उत्रियो एमाले



नेपाल दर्पण, काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । शनिबार सबेरै उनीहरुलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवै जनालाई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा राखिएको छ । दुवै जनालाई भक्तपुरबाट पक्राउ गरिएको हो । ओलीलाई गुन्डु र लेखकलाई कटुन्जेबाट पक्राउ गरिएको थियो । यो सँगै उनीहरुमाथिको अनुसन्धान कसरी बढ्छ भन्ने चासो बढेको छ । प्रहरीले भने ओली र लेखकको अनुसन्धान प्रक्रिया अरु नागरिक पक्राउ पर्दा जसरी अघि बढाइन्छ सोही अनुसार जाने बताउँछन् ।
आज शनिबार पक्राउ परेका कारण ओली र लेखक दुवै जनालाई परिसरकै हिरासतमा राखिने छ । आइतबार भने प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालत काठमाडौं पेस गरिने छ । प्रहरीले ओली र लेखक दुवै जनालाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ले कानुनी व्यवस्था छ । तर, त्यसका लागि आइतबार जिल्ला अदालतले अनुमति दिनुपर्ने हुन्छ । भदौ २३ र २४ को जेनजी प्रदर्शन हिंसात्मक हुँदा भएको घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगको सिफारिसका आधारमा उनीहरु पक्राउ परेका हुन् । लेखकलाई करिब ६ बजे पक्राउ गरेको प्रहरीले त्यसको केही बेरमा ओलीलाई पनि पक्राउ गरेको थियो ।
एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन सुरू गरेको छ । ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् । सरकारले शनिबार बिहानमात्रै अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो । पक्राउ लगत्तै एमाले नेताहरूले अब सडक प्रदर्शनमा उत्रने प्रतिक्रिया दिएका थिए । त्यसपछि पार्टीले औपचारिक निर्णय गर्नका लागि बैठक गरिरहेको छ ।

