ओलीको गिरफतारी विरुद्ध एमालेले देशव्यापी विरोध प्रदर्शन गर्ने, मुठभेड निम्त्याउने खतरा

नेपाल दर्पण, काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा काँग्रेस नेता रमेश लेखकको गिरफ्तारीले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । ओली पक्राउ लगत्तै नेकपा एमालेले गिरफतारीलाई ‘गैरकानुनी’ भनेको छ । आज बिहान उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले गिरफतारीलाई ‘गैरकानुनी’ भनेको हो ।

बैठकका निर्णय सुनाउँदै एमाले महासचिव शंकर पोखरेलले ओली र लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रह भएको बताए । उनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भर्तसना र विरोध गर्दछ ।’ आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग समेत गरेको छ । बैठकले प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने लगायतका निर्णय पनि गरेको छ ।

एमालेले गरेका निर्णयहरु यस्ता छन–

१. आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने ।

२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।

३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने ।

४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने ।

ओली र लेखक पक्राउ परेपनि नेपाली काँग्रेसले पनि हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन तर उसका नेताहरु पनि निशानामा परेको हुँदा चुप लागेर बस्न सजिलो छैन । त्यसमाथि ऊ प्रमुख प्रतिपक्ष पनि हो । यस नाताले उसका आफ्ना धर्म छन् । यस्तै यस्तै निर्णयका कारण स्थिति नियन्त्रण बाहिर जान थाल्यो भने त्यसको राजनीतिक मूल्य वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले चुकाउनुपर्ने अवस्था आउन सक्छ । र पहिलेका घटनामा जस्तै दोषारोपणको चक्र पुनः दोहोरिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । आजबाट शुरु भएको नयाँ खाले राजनीतिक उतारचढावको श्रृंखला अब सडक र राजनीतिक घटनाक्रममा देखिने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *