सडकमा उत्रियो एमाले, कर्णबहादुर बलात्कार आरोपमा पक्राउ, बालेन विरुद्ध नाराबाजी

नेपाल दर्पण, काठमाडौं ।

नेकपा (एमाले)का नेता–कार्यकर्ताले शनिबार (चैत १४) काठमाडौंको माइतीघरलगायत स्थानमा विरोध प्रदर्शन गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले गिरफ्तार गरेपछि उनीहरू सडकमा उत्रिएका हुन् । शनिबार दिउँसो काठमाडौंको माइतीघर, बबरमहल सडक क्षेत्रमा एमाले नेता कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । केहि संख्यामा नेता कार्यकर्ताहरू नाराबाजी गर्दै सडकमा निस्किएपछि माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।त्यस क्षेत्रमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिती छ ।

यातायात र पैदलयात्रीहरू प्रभावित भएपछि सुरक्षाकर्मीहरूले मूल सडकबाट प्रदर्शनकारीहरूलाई हटाउने खोजेको थियो । त्यस क्रममा प्रहरी एमाले कार्यकर्ताबीच धकेलाधकेल पनि भएको थियो । एमालेले सचिवालय बैठकबाट अध्यक्ष ओलीको प्रक्राउको राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको थियो । प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताले वर्तमान सरकारविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)विरुद्ध पनि नारा लगाएका छन् । शनिबारै बिहान प्रहरीले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई भक्तपुरस्थित उनीहरूका निवासबाट नियन्त्रणमा लिएको छ ।

यता फेरि नेकपा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पनि पक्राउ परेका छन् । उनी पूर्व संविधान सभा सदस्य हुन् । मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए । मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले शनिबार मल्ललाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *