१५ सदस्यीय मन्त्रिपरिषद गठन

प्रधानमन्त्री बालेन शाहले १५ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै उनले मन्त्रिपरिषद गठन गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन् । रास्वपाका वरिष्ठ नेता बालेनको नेतृत्वको सरकारमा उपसभापति डा.स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् ।

यस्तै, गृहमन्त्रालयमा सुधन गुरूङ, परराष्ट्रमा शिशिर खनाल,भौतिक पूर्वाधार तथा यातायात सहरी विकास मन्त्रालयमा सुनिल लम्साल,उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा विराजभक्त श्रेष्ठ,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गनेश पौडेल (खड्गराज ) मन्त्रीको जिम्मेवारी तोकिएको छ । शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल,स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा महता, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना, संघीय मामिला तथा सामान्य प्रशासन भूमि व्यवस्था सहकारी गरिवी निवारण मन्त्री प्रतिभा रावल नियुक्त भएका छन् ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम,कृषि तथा पशुपंक्षी विकास वन तथा वातावरणमा गीता चौधरी,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक साह र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सीता बादीलाई दिइएको छ।
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै आ–आफ्नो मन्त्रालय पुगेर पदभार सम्हालेका छन् ।

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले आगामी पाँच वर्ष देशमा सुशासन कायम गर्नेगरि काम गर्ने बताएका छन् । उनले नागरिकका गुनासाहरू अब सीधै मन्त्रालयसम्म पुग्ने व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘हाम्रो सरकारले आगामी ५ वर्ष सुशासनका लागि पूर्णरूपमा समर्पित भएर काम गर्ने र छिट्टै ठोस नतिजा देखाउनेछ ।’ उनले अब देश जेन–जी जनादेश अनुसार अघि बढ्ने विश्वास दिलाए । मन्त्री गुरुङले गलत गर्ने कसैले छुट नपाउनेपनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *