बालेन सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन, खुल्यो प्रधानमन्त्री बन्ने बाटो

नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई दलको नेतामा चयन गरेको छ । शाहलाई सर्वसम्मत रुपमा संसदीय दलको चयन गरेसँगै उनको प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । आज बसेको बैठकमा सभापति रवि लामिछानेले शाहलाई दलको नेतामा चयन गर्न राखेको प्रस्ताव सर्वसम्मत् रुपमा पारित भएको छ । शाहले भोलि (शुक्रबार) प्रधानमन्त्रीको शपथ लिने तय भएको छ । त्यसअघि रास्वपाले केन्द्रीय समितिको बैठकमार्फत शाहलाई दलको नेता नियुक्त गरेको हो ।

रास्वपामा प्रवेश गरेपछि शाह आज पहिलोपटक केन्द्रीय समितिको बैठकमा सरिक भएका हुन् । आजमात्रै प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ खाएका छन् । शाहले भोलि (शुक्रबार) अपरान्ह १२ः ३४ बजे प्रधानमन्त्रीको शपथ खाने तय भएको छ । निश्चित राजनीतिक दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेपछि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुट्थे । तर, यस पटक प्रतिनिधिसभामा करिब दुई तिहाइ संख्यामा रास्वपाको उपस्थिति भएपछि राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नुपर्ने अवस्था नरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अब रास्वपाले संसदीय दलको नेता चयन भएको विषय लिखित रूपमा राष्ट्रपति कार्यालयमा जानकारी गराएपछि उक्त दलको नेता स्वतः प्रधानमन्त्री नियुक्त हुनेछन् । ‘उहाँहरूले अहिले, राति वा बिहान कहिले पत्र ल्याउनु हुन्छ, पत्र आएपछि त्यसअनुसार प्रधानमन्त्री नियुक्त हुने हो’, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

रास्वपाले राष्ट्रपति कार्यालयलाई पठाउने पत्रमा नेपालको संविधान २०७२ को धारा ७६ (१) बमोजिम आफ्नो संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरियोस् भन्ने ब्यहोरा खुलाउनु पर्छ । त्यस्तो पत्र प्राप्त हुना साथ राष्ट्रपतिले उक्त दलका संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने भएका हुन् । यसअघि नै भोलि १३ गते शुक्रवार दिउँसो १२ बजेपछि नव नियुक्त प्रधानमन्त्री र मन्त्रीहरूको शपथका लागि शीतल निवासस्थित राष्ट्रपति भवनमा तयारी शुरु भइसकेको थियो । निम्तालुहरूलाई १२ बजे अगावै उपस्थितिका लागि राष्ट्रपति कार्यालयले खबर गरिसकेको जनाइएको छ । शपथ ग्रहण समारोहमा संवैधानिक अंगका प्रमुख, पूर्व प्रधानमन्त्रीहरु, नेपाल सरकारका विशिष्ट र प्रथम श्रेणीका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुखलाई निमन्त्रणा गरिने प्रचलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *