जेनजी आन्दोलनमा बल प्रयोग गृहमन्त्रीको निर्देशनमा गरिएको खुलासा !



नेपाल दर्पण, काठमाडौं
गत २३ र २४ गते भएको जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको जनआस्था पत्रिकाले जनाएको छ ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनका सम्बन्धमा जाँचबुझ गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो । आयोगको प्रतिवेदनमा भनिएको छ, “बानेश्वरको एभरेष्ट होटल अगाडि प्रहरीको ब्यारिकेट तोडेपछि गृहमन्त्रीले सिलसिलेबार रूपमा बल प्रयोग गरी स्थिति नियन्त्रण गर्नू भनी निर्देशन आफूलाई दिनू भनी प्रजीअ छविराज रिजालले यस आयोगमा दिएको बयानमा उल्लेख गरेका छन् ।”
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै गृहमन्त्री लेखकलाई पनि मुलकी अपराध संहिताअनुरुप कारबाही गर्नुपर्ने देखिएको उल्लेख गरेको छ । भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा निस्किएका जेनजी युवाहरूको ज्यान जिम्मेवार पदाधिकारीको लापरबाहीपूर्ण र हेलचेक्र्याइँले गएको भन्दै अपराध संहिताअनुरुप कारबाही सिफारिस गरेको आयोगले भनेको छ । आयोगको प्रतिवेदनमा अपराध संहिताअनुसार, कारबाही सिफारिस पर्नेहरूमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ छन् ।
आयोगले उनीहरूलाई मुलुकी अपराध संहिताको दफा १८१ बमोजिम ‘लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने’ कसुरमा अनुसन्धान गरी सजाय गर्न सिफारिस गरेको छ । यो दफाअन्तर्गत अभियुक्तलाई तीन देखि १० वर्षसम्म कैद सजाय र ३० हजार देखि एकलाख सम्म जरिबाना हुनसक्छ । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेनजी आन्दोलनको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगसमक्ष एभरेष्ट होटलअगाडिको ब्यारिकेट तोडिएपछि गृहमन्त्रीले बल प्रयोगको निर्देशन दिएको बयान दिएका छन् । सरकारले आधिकारिक रुपमा यो प्रतिवेदन सार्वजनिक गरेको छैन ।

