रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा हेर्दाहेर्दैमा
नेपाल दर्पण, काठमाडौं
रास्वपाका सभापति रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा विचाराधीनआरोपपत्रहरू संशोधन गरी सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट आज पनि ’हेर्दाहेर्दै’ मा राखिएको छ । रिटमाथि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । अब बिहीबारका लागि सुनुवाइ तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि यो रिट हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको थियो ।
अधिवक्ता दिनेश त्रिपाठी,युवराज सफलगायतले लामिछानेविरुद्धको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ । रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन् । महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने निर्णय गरेको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् । उक्त निर्णयपछि प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका लामिछाने चितवन–२ बाट भारी मतका साथ विजयी भइ संसदीय यात्रा तय गरेका छन् । लामिछानेले आफूविरुद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी कसूर फिर्ता लिइदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन फिर्ता गर्ने निर्णय लिएकी थिइन् । उक्त निर्णयलगत्तै सर्वोच्चमा रिट परेको थियो ।

