एनपीएल: तेस्रो सिजन कार्तिक ९ गते देखि शुरु हुने

नेपाल दर्पण, काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन कार्तिक ९ गते देखि शुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार साबिक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिमबीच पहिलो खेल हुने भएको छ । पछिल्लो संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमले नै हराएको थियो ।

प्रतियोगितामा सहभागी ८ फ्रेन्चाइजले एक अर्कासँगै प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन् । अंक तालिकाको शीर्ष दुई टोलीले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन् । यो खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ । पहिलो क्वालिफायरमा पराजित हुनेले दोेस्रो क्वालिफायरमा इलिमिनेटर जित्ने टोलीको सामना गर्नेछ ।
इलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायर जित्ने टोली उपाधिका लागि पहिलो क्वालिफायरको विजेतासँग भिड्नेछ । कार्तिक २९ गतेसम्म लिग चरणका खेल हुनेछ । मंसिर एक गते पहिलो क्वालिफायर, २ गते इलिमिनेटर तथा ३ गते दोस्रो क्वालिफायर खेल हुनेछ । फाइनल मंसिर ५ गते हुनेछ । प्रतियोगिताका सबै खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।
