July 21, 2026

नागरिकप्रति संवेदनशील हुन बालेनलाई रविको सुझाव

0
rb1

नेपाल दर्पण, काठमाण्डौ ।
रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आज लामो छलफल भएको छ । बिहान ११ बजेतिर लामिछाने निवास पुगेका प्रधानमन्त्री शाह दिउँसो सवा ३ बजेतिर फर्किएका थिए । दुई नेताबीच करिब ४ घण्टा छलफल भएको हो ।

प्रधानमन्त्री र सभापतिबीच सुकुमवासीको व्यवस्थापन, गणेश नेपालीको आत्मदाह प्रकरण र सरकारका कामकारबाहीबारेमा लामो छलफल भएको थियो । सभापति लामिछानेले सुकुमवासीको व्यवस्थापन के कसरी भइरहेको छ भनेर प्रधानमन्त्री शाहसँग चासो राखेका थिए । सभापतिले राज्यले नागरिकप्रतिको दायित्व पूरा गर्नुपर्ने बताएका थिए । जवाफमा प्रधानमन्त्री शाहले भनेका थिए, ‘सुकुमवासी व्यवस्थापनको सबै काम भइरहेको छ । अब धेरै समय लाग्दैन । सुकुमवासीले आफ्नो विवरण नदिएका कारणले केही ढिला भएको हो ।

बैठकमा सहभागीहरूका अनुसार सुकुमवासी समस्यालाई संवेदनशील भएर हेर्नुपर्ने र उनीहरूलाई जग्गा दिएर छिटो व्यवस्थापन गर्नुपर्नेमा दुई जनाबीच समान बुझाइ रहेको थियो । त्यस्तै, त्रिपुरेश्वरमा शरीरमा आगो लगाएर मृत्यु भएका गणेश नेपालीको विषयमा पनि सभापति र प्रधानमन्त्रीबीच छलफल भएको थियो । प्रधानमन्त्री शाहले गणेश नेपालीको सम्बन्धमा काठमाडौं महानगरपालिकाले गरेको सहमति र केन्द्र सरकारले गरिरहेको छलफलबारे जानकारी दिएका थिए ।

सुकुम्वासी समस्या समाधानमा सरकार प्रभावकारी हुन नसकेको भन्दै लामिछाने असन्तुष्ट बनेको स्रोत बताउँछ । शाह र लामिछानेबीचको छलफलमा प्रधानमन्त्रीका स्वकीय सचिव कुमार बेन र लामिछानेका स्वकीय सचिव अविनाश आचार्यलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *