July 22, 2026

सरकारले १०० दिनमा १० काम समेत गर्न सकेनःकांग्रेस महामन्त्री पौडेल

0
ppoudel

नेपाल दर्पण, काठमाडौँ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दल कार्यसमितिले सरकारका १०० दिनको कार्यसम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष दलको भूमिका कमजोर भएको भन्ने टिप्पणी भइरहेको बेला कांग्रेसले यो निर्णय गरेको हो । शनिबार (असार ६) सिंहदरबारमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकबाट यस्तो निष्कर्ष निकालिएको हो ।

संसदीय दल र पार्टीबीचको समन्वयलाई थप सुदृढ र संसद्मा आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउने निर्णय गरिएको महामन्त्री प्रदीप पौडेलले बताए । उनले सरकारले गठनको १०० दिनमा गरेका प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गरिने जानकारी दिए । उनले संघीय सांसदलाई राष्ट्रिय महत्वका विषय र जनजीविकाका सरोकारलाई संसद्मा सशक्त ढंगले प्रस्तुत गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल गरिएको बताए । कांग्रेसले सरकारका कमीकमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको उनले जिकिर गरे ।

बैठकमा सांसदहरूलाई राष्ट्रिय मुद्दाहरुलाई उठान गर्ने, जनजीविकाका सरोकारहरूलाई प्रभावकारी रुपमा सदनमा प्रस्तुत गर्न संसदीय दल र पार्टीबीच समन्वय गर्ने बिषयमा छलफल भएको उनले बताए । महामन्त्री पौडेलले प्रमुख प्रतिपक्षी दलले सदनमा निरन्तर आफ्ना बिषय राख्दा पनि सरकारले नसुनेको भन्दै निरन्तर रूपमा खबरदारी गरिराख्ने समेत उल्लेख गरे । उनले बिषयगत मन्त्रालयले गरेका कामका बारेमा अध्ययन गर्न पार्टीका नेताहरुलाई जिम्मेवारी तोकिएको भन्दै सरकारले सय दिनमा १० काम समेत गर्न नसकेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *