विभाजनतिर कांग्रेस, गगन थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको खड्काको आरोप
नेपाल दर्पण, काठमाडौं ।
नेपाली कांग्रेसभित्र जेनजी विद्रोहसँगै शुरु भएको विवाद विशेष महाधिवेशन हुँदै प्रतिनिधिसभा निर्वाचनमा भएको लज्जास्पद हारपछि झन् चर्किएको छ । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि सभापति बनेका गगन थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको आरोप नेता पूर्णबहादुर खड्काले लगााएक छन् । पूर्वसभापति शेरबहादुर देउवा समूहको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पार्टी विभाजनको डिलमा रहेको ब्रिफिङ गरेका हुन् । उनले आफू पार्टी विभाजनको बाटोमा जान नहुने पक्षमा रहेको बताए ।
‘म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु, विगतमा गिरिजाबाबुकै कारणले पार्टी फुट्यो, पछि मिलाएको पनि उहाँले नै हो । यो कुरा मैले गगन र विश्वजी भेट्न आउँदा भनेको छु । पार्टी फुटको डिलमा छ मिलाउने कि फुटाउने तपाईँहरूको जिम्मा छ भनेर,’ उनले भने । उनले सभापति गगन थापालाई सबै नेताहरूलाई सानेपा आउनसक्ने वातावरण बनाउनका लागि अनुरोध समेत गरेका छन् । पार्टीको सानेपास्थित नेतृत्व र बाहिर रहेका कार्यकर्ताबीच ठूलो खाडल सिर्जना भएको उनले उल्लेख गरे । वर्तमान नेतृत्वमा अहंकार, स्वार्थ र पारिवारिक हित हाबी भएको उनले आरोप लगाए ।
खड्काले कार्यकर्तासँग संवाद गरी कमजोरी स्वीकार गर्दै सुधारको बाटो अपनाउनुपर्नेमा जोड दिए । अनुशासन र कारबाहीका नाममा कार्यकर्तालाई तर्साउने प्रवृत्ति बढेको भन्दै उनले भोट नदिएका आधारमा कारबाही गर्नु गलत भएको धारणा राखे । “जिम्मेवार नेताहरूबाटै एकताभन्दा अनेकता फैलाउने अभिव्यक्ति आउन थालेको छ, जसले पार्टी संगठनलाई कमजोर बनाइरहेको छ,” खड्काले भने, “पार्टीभित्रको यही कमजोरीले राष्ट्रियतामाथि समेत खतरा देखिन थालेको छ ।” वर्तमान तथा निवर्तमान नेतृत्वलाई गाउँबस्तीमा पुगेर कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्न र पार्टी एकता कायम राख्न उनले आग्रह गरे । उनले पछिल्लो कमजोर चुनावी परिणामपछि नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।
योसँगै नेपाली कांग्रेसमा संस्थापन र इतर समूहबीच दूरी घट्नुको साटो झन् बढ्दै गएको छ । इतर समूहको निरन्तरको समानान्तर भेला, निर्णय र आरोपयुक्त निष्कर्ष तथा भावी रणनीति र अर्कोतर्फ संस्थापन पक्षको अडान र कतिपय कदमले विभाजनलाई बल पु¥याएको देखिन्छ । दुबै पक्षका नेताहरूले एकताको नारा अलाप्ने गरे पनि व्यवहारमा देखिएको विभाजनको अभ्यासले अविश्वास थप बढाएको देखिन्छ ।
