प्रधानन्यायाधीशमा न्यायाधीश डा. मनोज शर्मा सिफारिस
नेपाल दर्पण, काठमाडौं ।
प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा सिफारिस भएका छन् । बदलिँदो शासकीय राजनीति र अन्योलबीच उनी प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् । संवैधानिक परिषदको आजको बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको हो । बरीयतामा क्रमभंग गर्दै नेपालको न्यायिक इतिहासमा रोलक्रमको चौथोमा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बिहीबार (वैशाख २४) बसेको बैठकले सर्वोच्चका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो । बैठकमा प्रधानमन्त्री शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुविकुमारी, प्रमुख विपक्षी नेता भीष्मराज आङदेम्बे र कानुनमन्त्री सोविता गौतम सहभागी थिए । न्याय परिषद्ले गत फागुनमै योग्यता पुगेका ६ न्यायाधीशको नाम संवैधानिक परिषदको सचिवालयमा सिफारिस गरेको थियो ।
प्रकाशमानसिंह राउत गत चैत १८ गतेदेखि अवकाशमा गएसँगै प्रधानन्यायाधीश रिक्त थियो । सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको भूमिकामा छिन् । संसदीय सुनुवाइ समितिले अनुमोदन गरे उनी ३३ औं प्रधानन्यायाधीश बन्ने छन् ।
