एमालेमा ओलीलाई पदबाट हटाउने तयारी, बादलको अभिव्यक्तिले पार्टीमा हलचल
नेपाल दर्पण, काठमाडौं ।
एमालेले अब केपी ओलीलाई अध्यक्ष पदबाट हटाउने तयारीमा लागेको छ । यसका लागि विशेष महाधिवेशन माग गर्दै नेकपा एमालेका राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूले हस्ताक्षर सुरू गरेका छन् । नेकपा एमालेको गत महाधिवेशनले पारित गरेको विधानमा विशेष महाधिवेशनको प्रबन्ध छ । विगतदेखि नै नेतृत्व परिवर्तनको आवाज उठाइरहेका इतर समूह र केही युवा नेताले विशेष महाधिवेशनका लागि हस्ताक्षर गराइरहेका हुन् । अहिले ४०० जनाभन्दा बढी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यहरूले हस्ताक्षर गरिसकेको एक नेताले बताए ।
विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गराइएको पत्रमा संसदीय राजनीतिमा २०४८ सालदेखि २०८२ सम्म आइपुग्दा एमालेले सबैभन्दा कमजोर निर्वाचन परिणाम भोग्न बाध्य भएको उल्लेख छ । पार्टीका अधिकांश चर्चित नेताहरू भारी मतान्तरले जनताको मतबाट पराजित भएको भन्दै यस अवस्थाको कारणले जनताको भावना अनुसार पार्टी नचलेको अनुभूति गर्न सकिने उनीहरूको ठहर छ । त्यसैले इतिहासको संगीन घडीमा उभिएको यस अवस्थामा केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीले मात्र समीक्षा गरेर निकास निकाल्न नसक्ने विशेष महाधिवेशन माग गरिरहेकाहरूको निचोड छ ।
यस्तै, नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभाको बैठकमा दिएको अभिव्यक्तिलाई लिएर सिंगो पार्टीमा हलचल ल्याएको छ । हिजो (शुक्रबार) बसेको एमाले सचिवालय बैठकमा ६ घण्टासम्म बादलको उक्त अभिव्यक्तिबारे समीक्षा भएको स्रोतले बतायो । सचिवालय बैठकमा नेताहरुले बादलको शैली माओवादीकै रहेको र उनले एमालेलाई बुझ्नै बाँकी रहेको टिप्पणी गरेका थिए ।
केही नेताहरुले संसदीय दलको नेता फेर्नुपर्ने प्रस्तावसमेत अगाडि सारेको स्रोतको दाबी छ । ‘पार्टी सचिवालय बैठकमा बादलको अभिव्यक्तिलाई लिएर चर्को आलोचना भयो । करिब ६ घण्टासम्म उक्त अभिव्यक्तिबारेमा नेताहरुले आपत्ति जनाउँदै धारणा राखेका थिए । बादलले भने आफू संसद्मा सम्बोधन गर्ने क्रममा केही भावुक भएको र त्यसलाई त्यही रुपमा लिन आग्रह गर्नुभएको थियो । तर, नेताहरु बादलसँग कन्भिन्स हुन सक्नुभएको छैन । बादललाई संसदीय दलको नेताबाट हटाउनेसम्मको तयारी सुरु भएको छ,’ स्रोतले भन्यो ।
