जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अनुमति

नेपाल दर्पण, काठमाडौं ।
अदालतले जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ । बिहीबार काठमाडौँका जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
श्रेष्ठलाई आज थुनामुक्तको मागसहित नेपाल बार अध्यक्ष डा. विजय मिश्र, शम्भू थापा, बारका महासचिव केदार कोइराला, टीकाराम भट्टराई, गोविन्द बन्दी, अम्बर राउत, भक्तिराम घिमिरे, गोपालकृष्ण घिमिरे, डा. प्रेमराज सिलवाल, पुष्प पौडेल, चुडामणि पौडेल, सन्तोष भण्डारी, टीका कुँवर, आर.सी. गौतम, राधिका खतिवडा, अर्जुन खड्का, बद्री भुसालले बहस गरेका थिए ।
श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो । उनलाई वैयत्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको रिहाइको माग गर्दै पत्रकारसँग सम्बन्धित संघसंस्थाहरूले प्रदर्शन गरिरहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।
