बाढीमा परेर अहिलेसम्म १०६८ जनाको मत्यु, ४६०६ जना सम्पर्कविहीन

नेपाल दर्पण, काठमाडौं ।
रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा परेर मत्यु भएका १०६८ जनाको शव फेला परेको छ भने बाढीमा परी अझै चार हजार ६०६ जना सम्पर्कविहीन रहेका नेपाल प्रहरीले जनाएको छ । बाढीपछि उद्धार कार्यलाई तीव्र बनाइए पनि अझै मानिस सम्पर्कविहीन रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढीमा परी मृत्यु भएका तथा फेला परेका शवको व्यवस्थापनसमेत भइरहेको छ । हालसम्म ५८ वटा शव सम्बन्धित परिवार तथा आफन्तलाई हस्तान्तरण गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार आजसम्म फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ४०० जना आंशिक अङ्गसहितका रहेका छन् । प्रहरीका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ४५३ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । नुवाकोटमा दुई हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौँमा ३२९ जना होल्डिङ सेन्टरमा छन् । बाढीपछि उद्धार गरिएकामध्ये तीन हजार २१४ पुरुष, एक हजार ५३० महिला र पहिचान नखुलेका १४ जना रहेका छन् । ३९ देशका ५९० जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन् ।
परराष्ट्र मन्त्रालयमा रहेको ‘आपत्कालीन नियन्त्रण कक्ष’ले सम्बन्धित निकाय, विदेशस्थित नेपाली कूटनीतिक नियोग र बेपत्ता विदेशी नागरिकका परिवारसँग नजिकबाट समन्वय गरिरहेको उनले जनाए । बाढीपछि सम्पर्कविहीन हुने विदेशीमा सबैभन्दा ठूलो संख्या क्रमशः भारत, अमेरिका, मलेसिया, युक्रेन, अस्ट्रेलिया, बेलायत, लाट्भीया, क्यानडा र चीनका नागरिक छन् । १८३ जना भारतीय सम्पर्कविहीन छन् । अमेरिकाका ६४, मलेसियाका ५५, युक्रेनका ५४, अस्ट्रेलियाका ३५, बेलायतका ३३, लाट्भीयाका ३३, क्यानडा ३० र चीनका २५ जना नागरिक बाढी प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुने विदेशीमा फ्रान्सका चार, जर्मनीका आठ, न्युजिल्याण्डका पाँच , रुसका आठ, सिंगापुरका नौ , दक्षिण अफ्रिकाका ६, जापानका पाँच र कजाकास्तानका तीन नागरिक छन् ।
नेदरल्याण्ड्स, आयरल्याण्ड, पोर्चुगल, स्पेन, बेल्जियम र इटालीका दुई–दुई जना नागरिक सम्पर्कविहीन छन् । यस्तै, इस्टोनिया, भियतनाम, स्वीट्जरल्याण्ड, सर्विया, स्विडेन, फिलिपिन्स, इजरायल, लिथुवानिया, हंगेरी, फिनल्याण्ड र बेलारुसका एक–एक जना नागरिक सम्पर्कविहीन छन् । भारतबाट भने थुप्रै व्यक्तिहरू आफन्तको खोजीमा नेपाल आएका छन् । तर यसरी आफन्त खोज्न आउनको यकिन संख्या भने भेटिँदैन । नेपाल पर्यटन बोर्डका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म उद्धार गरिएका विदेशीमा नागरिकमा भारतका १८७, चीनका १०८, जर्मनीका ४, माल्टाका ४, इटालीका २, रुसका २, टर्कीका २, अमेरिकाका २, बुल्गेरियाका १, ओमानका १, पोर्चुगलका १ र स्वीट्जरल्याण्डका १ जना छन् ।
