September 4, 2026

रोल्पा र जाजरकोटमा पहिरोः४ जनाको मृत्यु, एक घाइते एक बेपत्ता

0
pahiro1

नेपाल दर्पण, काठमाडौं ।

रोल्पा र जाजरकोटमा पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ । रोल्पाको लुङग्री गाउँपालिका–५ धैरेनीमा आइतबार बिहान करिब ३ बजेतिरपहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको छ । गुरुङ आफ्नै घरमा सुतिरहेको अवस्थामा एक्कासी घरमाथिबाट पहिरो गई घर पुरिँदा च्यापिएर मृत्यु भएको प्रहरीको भनाइ छ ।

यस्तै अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा खसेको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । अझै दुईजना बेपत्ता छन् । उनीहरूको खोजीकार्य जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । पहिरोमा परी घाइते भएका भेरी–२, साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको छ । सोही ठाउँकी ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

शनिबार (साउन ३०) साँझ करिब ५ः३० बजे खसेको उक्त पहिरोमा परी सोही ठाउँका ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की गरी सातजना घाइते भएका छन् । घाइतेमध्ये रामबहादुर र भद्रकलाको अवस्था गम्भीर छ । थप उपचारका निम्ति उनीहरूलाई नेपालगन्ज र सुर्खेततर्फ पठाइएको प्रहरीले जनाएको छ । भेरी–२, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विक अझै बेपत्ता छन् । विक पहिरोपश्चात् घरबाट निस्किएकामा सम्पर्कविहीन भएका हुन् । उक्त पहिरोमा परी सोही ठाउँका आठ घरमा क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *