रास्वपाको पहिलो महाधिवेशन सपन्न, बन्यो १८५ जनाको जम्बो केन्द्रीय समिति

नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को पहिलो महाधिवेशन सकिएको छ । चितवनको भरतपुरमा गत आइतबारदेखि सुरु भएको महाधिवेशन शुक्रबार पदाधिकारी चयन गर्दै सकिएको हो । रास्वपाको सभापतिमा रवि लामिछाने र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भए । महिला उपसभापतिमा सोविता गौतम प्रतिस्पर्धाबाट निर्वाचित भइन् । शुक्रबार भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित भएकी हुन् । त्यस्तै महामन्त्रीमा विपिन आचार्य निर्वाचित भए । महामन्त्रीमा विपिनसँगै मनिष झा, सागर ढकाल र गणेश कार्कीले प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी सहमहामन्त्री (खुला) तर्फ हरि ढकाल र असिम शाह निर्वाचित भएका छ भने सहमहामन्त्री (महिला)मा निशा डाँगी निर्वाचित भइन् ।
नवनिर्वाचित पदाधिकारीको शुक्रबार नै शपथ ग्रहण भएको छ । महाधिवेशन अन्तर्गत पहिलो चरणमा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अब सभापति रवि लामिछानेले वरिष्ठ नेता १,उपसभापति १, महामन्त्री १, प्रवक्ता १, सह प्रवक्ता ३, कोषाध्यक्ष १ र सह कोषाध्यक्ष २ गरी १२ जना पदाधिकारी मनोनीत गर्नेछन् । त्यस्तै ५१ जना केन्द्रीय सदस्य पनि सभापति लामिछानेले मनोनयन गर्नेछन् । रास्वपाको विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समिति हुनेछ । त्यसबाहेकक सात प्रदेशका सभापति पदेन सदस्य रहनेछन् । उनीहरूसमेत जोड्दा रास्वपाको केन्द्रीय समिति १८५ जनाको हुनेछ ।
रास्वपाको पदाधिकारी निर्वाचनमा चार हजार ३११ मध्ये एक हजार २८९ ले मात्र भाग लिएका थिए । सभापति रवि लामिछाने चितवनमै भएर पनि पदाधिकारी निर्वाचनको मतदानमा सहभागी भएनन् । प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता शाह केन्द्रीय सदस्य चुनावमै भाग नलिई काठमाडौं फर्किएका थिए । विद्युतीय मेसिनबाट मतदान भएको थियो । यसअघि केन्द्रीय सदस्यको चुनावमा दुई हजार ९५९ जनाले मतदानमा भाग लिएका थिए । धेरै प्रतिनिधिहरू पदाधिकारीमा सबैले मत हाल्ने हो भन्ने जानकारी अभावमा फर्किएको पाइएको छ । त्यसरी नै फर्किएका रौतहटका प्रतिनिधिहरू साँझ ५ बजेपछि मतदानस्थलमा पुग्दा भोट हाल्न पाएनन् ।
छोटो अवधिमा असीमित सफलता र जनसमर्थन पाएको रास्वपालाई अव पार्टीलाई लोकतान्त्रिक मूल्य, मान्यता र विधि पद्धतिमा हिँडाउने चुनौती थपिएको छ । अरूलाई प्रश्न र खबरदारी गर्दै उदाएको यो पार्टी अव जवाफ दिने ठाउँमा पुगेको मात्र छैन, जनताका आम अपेक्षा सम्बोधन गर्ने जिम्मेवारी समेत पुरा गर्नुपर्ने अवस्थामा पुगेको छ ।
