रास्वपाको महाधिवेशनलाई सम्बोधन गर्दै गगन थापाले स्विकारे आफ्ना कमजोरी

नेपाल दर्पण, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन सम्बोधन गरेका छन । महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेसले आफ्ना कमजोरी सच्याउन ढिलाइ गरेको स्वीकार गर्दै रास्वपाका कार्यकर्तालाई त्यही गल्ती नदोहो¥याउन सुझाव दिएका छन । उनले भने, ’तपाईंका नेताहरूले गल्ती गर्छन् भने प्रश्न गर्नुहोला । हामीले ढिला गरेर गल्ती ग¥यौं, तपाईंहरूले नगर्नुहोला । आफ्नै नेतालाई प्रश्न गर्ने आँट गर्नुहोला ।’ हरेक पटकको जनमत दम्भले दुर्घटनामा परेको बताएका छन् ।
उनले रास्वपाले यसपटक पाएको जनमत दुर्घटनामा जान नहुने बताए । “पटक पटकका जनमत दम्भबाट दुर्घटनामा परेका छन् । यसपटकको जनमत दुर्घटनामा जानु हुन्न,” थापाले भने, “हामी रास्वपा प्रतिस्पर्धी हौँ तर दुस्मन होइनौँ ।” सभापति थापाले रास्वपाले छोटो समयमै प्राप्त गरेको जनमतलाई ‘लोभलाग्दो’ भन्दै प्रशंसा गरे । चार वर्षको अवधिमै रास्वपाले हासिल गरेको जनसमर्थन नेपाली राजनीतिक इतिहासमा दुर्लभ भएको उल्लेख गर्दै उनले त्यसलाई सही दिशामा उपयोग गर्नुपर्ने बताए ।
उनले इतिहासमा यस्ता जनमत प्राप्त गरेका दल र नेताहरू अहंकार, आन्तरिक टकराव तथा सत्ताको उन्मादका कारण दुर्घटनामा परेको स्मरण गराए । ’इतिहासमा तीन–चार पटक यस्तै जनमत आएको छ । तर, हरेक पटक नेताहरूको अहंकार र आपसी द्वन्द्वका कारण त्यो दुर्घटनामा प¥यो। यस्तो अवस्था रास्वपामा नहोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने । थापाले कुनै दललाई कमजोर बनाएर होइन, आफूहरूलाई इमानदार र सक्षम बनाएर मात्रै राजनीतिक प्रतिस्पर्धामा अगाडि बढ्न चाहेको बताए । ’हामी तपाईंहरूको खुट्टा काटेर अग्लो हुन चाहँदैनौं। हामी सफा भएर, राम्रो काम गरेर तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं,’ उनले भने ।
संसदीय अभ्यासबारे चर्चा गर्दै थापाले विपक्षी दलको भूमिका केवल विरोध गर्ने नभई राष्ट्रिय हितका विषयमा साथ दिने पनि भएको बताए । सरकारले गलत गर्दा विरोध गर्ने र सही निर्णय गर्दा समर्थन गर्ने कांग्रेसको नीति रहेको उनको भनाइ थियो । आफ्नो पार्टीतर्फ संकेत गर्दै थापाले विगतका वर्षहरूमा कांग्रेस सत्ता, गठबन्धन र चुनावी गणितमा बढी केन्द्रित भएको स्वीकार गरे । उनले पार्टीभित्र सुधार र आत्मसमीक्षाको आवश्यकता महसुस गर्दै आफूहरूले बाहिरी प्रतिस्पर्धाभन्दा आफ्नै घरभित्रको कमजोरीसँग लड्न खोजेको बताए ।
