ओलीपछि अब देउवा र प्रचण्डलाई पक्रने सरकारको तयारी !

नेपाल दर्पण, काठमाडौं ।

एमाले नेता केपी ओलीलाई पक्राउ गरे लगत्तै अब सरकारले पूर्व दुई प्रधानमन्त्री शेर बहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई पनि पक्रिने बाटोतिर लागेको छ । यसका लागि सरकारले सम्पत्ति शुद्धीकरण अर्थात सम्पत्तिमाथि अनुसन्धान अघि बढाउने निर्णय गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल, दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको नाममा रहेका चल–अचल सम्पत्ति र आम्दानीको स्रोतलगायत विषयमा अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्यसबारे अनुसन्धान अघि बढाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतको दाबी छ । ती अधिकृतले भने, ‘उहाँहरूको सम्पत्तिमाथि अनुसन्धान गर्ने सिलसिलामा आज बिहान पूर्वमन्त्री दीपक खड्कालाई नियन्त्रणमा लिइएको हो ।’ खड्कामाथि अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरणले नै सीआईबीलाई पत्राचार गरेको थियो । सीआईबीले कांग्रेस नेता समेत रहेका दीपक खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अदालतबाट म्याद लिँदैछ । प्रहरीले पूर्व प्रधानमन्त्रीहरूको चल, अचल सम्पत्ति र आम्दानीको स्रोत लगायतको विषयमा अनुसन्धान गर्नेछ ।

भदौ २४ मा भएको आगजनीमा पूर्वप्रधानमन्त्री देउवा र दाहालको घरमा जलेको रकमको टुक्रा भेटिएको थियो । पूर्वमन्त्री खड्काको घरमा पनि जलेको रकम भेटिएको थियो । अनुसन्धानको लागि स्थानीय प्रशासनले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन रोक लगाएको छ । जेनजी प्रदर्शनमा आगजनी भएको घर भत्काएर त्यहाँ नयाँ संरचना बनाउन खोजिँदैछ । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनमा भत्काउन रोक लगाइएका छ । प्रहरीले भत्काउन रोक लगाएर त्यहाँ कार्यरत कामदार हटाएको छ । भदौ २४ मा प्रदर्शनकारीले आगजनी गर्दा जलेको अवस्थामा डलर र नेपाली रुपैयाँ भेटिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसबेला नै सो रकम सङ्कलन गरेर राखेको थियो । यस्तै, पूर्वमन्त्री आरजु राणाका भाइ भुषण राणामाथि पनि सँगसँगै अनुसन्धान अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *