बसले ठक्कर दिदा कार सुनकोसीमा खस्यो, २ जनाको पहिचान खुल्यो २ अझै बेपत्ता

नेपाल दर्पण, काठमाडौं ।
काठमाडौंबाट ओखलढुंगातर्फ जाँदे गरेको बस रामेछाप–सिन्धुली–ओखलढुङ्गाको सिमानास्थित सुनकोशीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहान करिब ११ः३० बजे भएको उक्त दुर्घटनापछि नदीमा बेपत्ता भएको कारभित्र चार जना यात्रु सवार रहेको खुलेको छ ।
घटनास्थलमा सुरक्षा निकायको टोली तत्कालै पुगेर खोज तथा उद्धार कार्य शुरु गरिसकेको छ । खोजीकार्य भएपछि अहिलेसम्म भएकामध्ये दुईजनाको पहिचान खुलेको छ । कारका चालक सिन्धुपाल्चोकका ३९ वर्षीय दिल कुमार लामा र स्काइभेटर चालक सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ का अन्दाजी २७÷२८ वर्षीय गणेश थापाको पहिचान खुलेको हो । अर्का एकजनाको पहिचान खुल्न बाँकी छ । उनीहरूको खोजि कार्य जारी छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी (डीएसपी ) विजय श्रेष्ठका अनुसार काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र.०८(००१ ख ०१४४ नम्बरको बसले बिपरित दिशाबाट खुर्कोटतर्फ आउँदै गरेको नम्बर नखुलेको कारलाई ठक्कर दिएको थियो । लामा मध्यपाहाडी लोकमार्ग निर्माणमा कन्ट्याक्टर हुन् । उनीहरू साइडमा काम सकेर खाना खान होटल तर्फ आउने क्रममा दुर्घटना भएको खुलेको छ । प्रहरीका अनुसार कारलाई ठक्कर दिने बसका चालक फिक्कल गाउँपालिका– ६ का २६ वर्षीय हेम बहादुर तामाङसहित बसलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी चौकि खाङसाङमा राखेको छ । निरन्तरको वर्षाका कारण सुनकोशी नदीमा आएको भीषण बाढीले उद्धार कार्यलाई निकै जटिल र प्रभावित बनाएको छ । प्रतिकूल मौसम र नदीको तीव्र बहावका बाबजुद उद्धार टोलीले प्रयास जारी राखेको छ ।
