नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने मुद्दामा रायमाझी र खाँड दोषी ठहर

नेपाल दर्पण, काठमाडौं ।
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीसहितका प्रतिवादीहरूलाई दोषी ठहर गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले सातजनाबाहेक अन्यलाई दोषी ठहर गरेको हो । अदालतले एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई दोषी ठहर गरेको छ ।
इजलासले मुद्दा चलाइएका सातजनालाई सफाइ दिएको छ भने टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, शम्सेर मियाँ, आङटावा शेर्पा, डा. इन्द्रजीत राई, नरेन्द्र केसी, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेलसहित अधिकांश अभियुक्तलाई दोषी ठहर गरेको हो । सजाय निर्धारणका लागि भने आउँदो असार २९ गतेका लागि पेसी तोकिएको छ ।
यसअघि २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध तथा संगठित अपराधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त प्रकरणमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाइदिने प्रलोभन देखाई ठूलो रकम असुलिएको आरोप छ । अदालतले अब दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गर्नेछ ।
त्यस्तै, बालकृष्णसहित ६ जनालाई राज्यविरुद्धको कसुरमा मतियार रहेको अदालतले ठहर गरेको छ । टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेलले राज्यविरुद्धको कसुरमा मतियार रहेको अदालतको फैसलामा उल्लेख छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नेपाल सरकारका मन्त्री र उच्च सरकारी अधिकारी समेत संलग्न भएको भन्दै मुद्दा चलाइएको थियो ।
