मुम्बईमा वर्षाको कहर जारी, जताततै पानी पानी, जनजिवन त्रसित, घरमै बस्न सुझाव

नेपाल दर्पण, मुम्बई ।
दक्षिणपश्चिमी मनसुन सक्रिय भएका कारण मुम्बईमा विगत एक हप्तादेखि भारी वर्षाका कारण जनविजजन अस्तव्यस्त भएको छ । मुम्बई तथा आसपासका विभिन्न क्षेत्रहरुमा पानी जमेको छ । लोकल रेलहरू धेरै प्रभावित भएको छ, जसका कारण यात्रामा समस्या आएको छ । मुम्बई महानगरपालिकाका अधिकारीहरूका अनुसार, मुम्बईका धेरै भागहरूमा विगत २४ घण्टामा १०० मिमी भन्दा बढी वर्षा भएको छ । यद्यपि, भारी वर्षाको बावजुद, शहरमा सार्वजनिक यातायात सामान्य रूपमा सञ्चालन भइरहेको छ । यद्यपि, यात्रुहरूले उपनगरीय लोकल रेल नेटवर्कको सञ्चालनमा ढिलाइ भएको गुनासो गरेका छन् ।
मुम्बईमा लगातार पाचदिन देखि आएको वर्षाका कारण जनजिवन त्रसित भएको परिस्थितिलाई गम्भीरतालाई बुझ्दै, बृहन्मुम्बई महानगरपालिकाले आफ्नो सतर्कता बढाएको छ । मुसलधारे वर्षा र प्रतिकूल मौसमका कारण रूखहरू ढलेका कारण धेरै क्षेत्रमा क्षति पुगेको छ । सैकडौं गाडीहरु च्यापिएका छन । मेयर रितु तावडेले बासिन्दाहरूलाई घर भित्रै बस्न र अत्यावश्यक नभएसम्म बाहिर ननिस्कन अपील गरेकी छिन् । उनले आवश्यक परेमा महानगरपालिकाको हेल्पलाइनबाट सहयोग लिन पनि सल्लाह दिएकी छिन् ।
भारी वर्षा र तेज हावाका कारण हवाई उडानमा पनि समस्या आएको छ । आइतबार मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग एक घण्टाको लागि बन्द गरिएको थियो, जसले गर्दा उडान सेवाहरू गम्भीर रूपमा प्रभावित भएका थिए ।
छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०ः१७ बजेदेखि ११ः१७ बजेसम्म यो निलम्बन रह्यो । धेरै आगमन र बहिर्गमन उडानहरू प्रभावित भए । यात्रुहरूले प्रस्थानको लागि औसत ७५ मिनेट र आगमनको लागि कम्तिमा २८ मिनेट ढिलाइको सामना गर्नुपरेको थियो । जानकारी अनुसार, ८७ प्रतिशत उडानहरू ढिलो भएका थिए र ६२ प्रतिशत ढिलो आइपुगेका थिए । मुम्बई अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेडले ४२ नटसम्मको तेज हावा र कम दृश्यताका कारण सुरक्षा कारणहरूले गर्दा रनवे सञ्चालन रोकिएको बताएको छ । मौसममा सुधार आएपछि एक सामान्य सञ्चालन पुनः सुरु भएको बताइएको छ ।
आज उद्योगपति मुकेश अम्बानीको काफिले अगाडि रूख ढलेपछि मुम्बईको बान्द्रामा यातायात अवरुद्ध भएको थियो । मुम्बईका केही भागहरूमा ठूला रूखका हाँगाहरू सवारी साधनहरूमा पनि खसेका छन् । ढलेका रूखहरूका कारण धेरै सवारी साधन मालिकहरूलाई क्षति पुगेको छ । रायगडमा, भारी वर्षाका कारण पानीको स्तर बढेपछि आदोशी झरना नजिकै १०–१२ पर्यटकलाई उद्धार गरिएको छ ।
