प्रहरी हिरासतमा विष्णु पौडेल, छटपटीएको एमालेले गर्यो आन्दोलनको घोषणा

नेपाल दर्पण, काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई प्रहरी प्रभाग, पुलचोकको हिरासतमा राखिने भएको छ । विशेष अदालतले साँझ उनलाई थप ७ दिन हिरासतम राखेर अनुसन्धान गर्ने अनुमति दिएको थियो । लगत्तै, प्रहरीले उनको मेडिकल चेकजाँच गराएर हिरासतमा राखिएको हो ।
पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई विभागले सम्पत्तिको स्रोत र शंकास्पद सेयर कारोबारको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको जनाएको छ । सुर्खेतबाट हिजो (सोमबार) सम्पत्ति शुद्धीकरण विभागको टोलीले उनलाई पक्राउ गरेको थियो । उनलाई आजै अदालत उपस्थित गराइएको थियो ।
यता, पौडेललाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण, पूर्वाग्रहरप्रेरित र गैरकानुनी रहेको एमालेले निष्कर्ष निकालेको छ । मंगलबार राति पार्टी अध्यक्ष केपी ओलीको निवास गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । बैठकले त्यसको प्रतिवाद गर्ने पनि निर्णय गरेको छ ।
उनले वस्तुपरक तथ्य र प्रमाणबिना गिरफ्तारी गरिएको भन्दै बैठकले निन्दा गरेको पनि जानकारी दिएका छन् । “बिनाकुनै वस्तुपरक तथ्य र प्रमाण, केवल राजनीतिक प्रतिशोध साध्ने कुत्सित मनसायका साथ सम्पत्ति शुद्धीकरणको बहानामा गरिएको गैरकानुनी गिरफ्तारीको पार्टीले राजनीतिक र कानुनी दुवै रूपमा सशक्त प्रतिवाद गर्ने,“ पार्टीको निर्णय र निष्कर्षबारे जानकारी दिँदै उनले लेखेका छन् । पौडेललाई थुनामा राख्न विशेष अदालतले दिएको आदेश पनि पूर्वाग्रहरप्रेरित रहेको एमाले जनाएको छ । “राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित यस घटनामा विशेष अदालतले पूर्पक्षका लागि थुनामा राख्न दिएको आदेशसमेत न्यायसम्मत नरहेको ठहर गर्दछ,“ पोखरेलले भनेका छन् ।बैठकले पौडेललाई बिनासर्त रिहा गर्न पनि माग गरेको छ ।
