प्रधानमन्त्री वा सभापति हुन्छु भन्ने छैन महामन्त्रीमा भिड्छुःमनिष, सहमहामन्त्रीमा चौधरीको दाबी

नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले आफू महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताएका छन् । महाधिवेशनस्थलमा पत्रकारसँग उनले महामन्त्रीमा उमेदवारी दिने बताएका छन् । झा हाल कुनै पनि लाभको पदमा छैनन् । बन्द सत्रस्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आफू मानसिक रुपमा महामन्त्रीका लागि तयार भइसकेको बताएका हुन् ।
साथै, परिणाम जेसुकै आए पनि आफू महामन्त्री भिड्ने पनि उनले बताए । ‘म महामन्त्री पदका लागि मानसिक रुपमा तयार भइसकेँ । परिणाम जेसुकै होस्, म अब भिड्नका लागि तयार भइसकेँ,’ झाले भनेका छन् । उनले आफूलाई यो देशको प्रधानमन्त्री वा पार्टीको सभापति हुन्छु भन्ने अपेक्षा नरहेको पनि सुनाए । ‘यो देशको प्रधानमन्त्री नै हुन्छु, पार्टीको सभापति नै हुन्छु भन्ने मेरो कहिलेपनि अपेक्षा छैन । तर अहिलेसम्म जुन तहसम्मको नेतृत्व लिएर आएँ, त्यो भन्दा अगाडि बढ्छु भन्ने अपेक्षा हुन्छ नै,’ झाले भनेका छन् ।
यस्तै नेता अशोककुमार चौधरीले सहमहामन्त्री पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । चौधरी रास्वपाको संस्थापक केन्द्रीय सदस्य हुन् । प्रथम महाधिवेशनमार्फत खुल्ला थारू केन्द्रीय सदस्य हुँदै समावेशी तर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने गरी मत मागिरहेको उनले बताए । सहमहामन्त्रीमा आफ्नो दाबेदारी पार्टीको संस्थागत सुदृढीकरण, कार्यकर्ता सम्मान र संगठनात्मक एकताको अभियानका रूपमा रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘तल्लो तहका साथीहरूको भावना र आवाज केन्द्रीय नेतृत्वसम्म पुरु¥याउन मेरो उम्मेदवारी केन्द्रित छ ।’ ४३ वर्षीय चौधरी रास्वपाको सुरुवाती चरणदेखि संगठन विस्तार अभियानमा अग्रपंक्तिमा देखिँदै आएको बताउँछन् । समावेशितामार्फत नयाँ राजनीतिक संस्कार स्थापित गर्नुपर्ने पनि उनको भनाइ छ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ ।
