कांग्रेस र एमालेबिच प्रदेशमा उहि पुरानो सत्ताको खेल शुरु
नेपाल दर्पण, काठमाडौं ।
कांग्रेस र एमाले फेरि उहि पुरानो सत्ताको खेल शुरु गरेका छन । दुबै पार्टी मिलेर प्रदेशमा फेरि आलोपालो सरकार चलाउने तयारीमा देखिएका छन । यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका शीर्ष नेता सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा बीच पटक–पटक संवाद भइसकेको छ ।
७ प्रदेशमध्ये ४ मा कांग्रेस र ३ मा एमालेको नेतृत्व छ । साढे ५ महिनाअगाडि मात्रै पुनर्गठन भएको मधेश प्रदेश सरकारलाई निरन्तरता दिँदै बाँकी ६ प्रदेशमा नेतृत्व अदलबदल गर्ने दुई दलबीच समझदारी भइसकेको छ । बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार छ । कोशी, लुम्बिनी र कर्णालीमा भने एमालेको सरकार छ ।
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिँदैछन् । कांग्रेस महामन्त्री गुरूराज घिमिरेले सरकार पुनर्गठनको विषय केही दिनमै टुंगिने बताए । ‘दुइटै पार्टीमा दुवै खालका धारणा छन्, यसमा समझदारी बनेपछि पुनर्गठन हुन्छ,’ घिमिरेले भने । एमाले नेता राजन भट्टराईले पनि कांग्रेससँग निर्णायक संवाद चलिरहेको बताए । उनका अनुसार कांग्रेसले चार प्रदेशकै नेतृत्वमा दाबी गरेको छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपालाई समेत सामेल गराउन खोजिरहेका छन् । नेकपाले प्रदेश सरकारमा साझेदारी खोजेको छ । भट्टराईका अनुसार नेकपाले सुदूरपश्चिम प्रदेशको नेतृत्वमा दाबी गरेको छ ।
सुदूरपश्चिममा नेकपा सबैभन्दा ठूलो दल हो । कुल ५३ सदस्यीय प्रदेशसभामा नेकपाका २२, कांग्रेसका १८, एमालेका ११, राप्रपाका १ सांसद छन् । स्वतन्त्र निर्वाचित ताराप्रसाद जोशी भने प्रदेशसभाबाट राजीनामा दिएर फागुन २१ को प्रतिनिधिसभा चुनाव लडेका थिए । उनी रास्वपाबाट डडेलधुराबाट निर्वाचित भए ।
