June 3, 2026

निर्वाचनविरोधी गतिविधिमा रहेका १७६ जना पक्राउ, रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

0
kish

नेपाल दर्पण, काठमाडौं ।

निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जना पक्राउ परेका छन । निर्वाचनविरोधी गतिविधि गर्ने, ‘मिस इन्फर्मेशन’ र ‘डिस इन्फर्मेशन’ प्रवाह गर्ने तथा गाडी जलाउनेलगायत निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बताएका छन ।

उनका अनुसार सुरक्षा चुस्त र प्रभावकारी बनाइएकाले काठमाडौँमा राति दुईवटा गाडी जलाएको पाइए पनि निर्वाचनसँग सम्बन्धित अन्य गम्भीर प्रकृतिका कुनै पनि घटना भएका छैनन् । उनले भने, “जिल्लाका मतदान केन्द्रहरूमा सर्वदलीय, सर्वपक्षीय बैठक बसेर सुरक्षालाई चुस्त बनाउने काम भएको छ । प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग गर्ने तथा मौन अवधि उल्लङ्घन गर्नेहरू पहिचान गरी विशेष निगरानी गर्ने र नियन्त्रण गर्ने काम भइरहेको छ ।”

आजै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले केन्द्रीय निर्वाचन सेलको अनुगमन गरी मौन अवधिमा सीमा सुरक्षामा विशेष निगरानी र सुरक्षा चुस्त बनाउन मातहतका निकायलाई निर्देशन दिएको उनले जानकारी दिए । आज देशका विभिन्न क्षेत्रमा तर्साउनका लागि राखिएका पाँचवटा नक्कली वस्तु फेला परेका र सेनाले निष्क्रिय गरेको प्रहरीले जनाएको छ ।

यस्तै आज निर्वाचन आयोगले रास्वपाको तर्फबाट धनुषा–१ मा उम्मेदवार रहेको किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको छ । कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको स्पष्ट पारे । उनी कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकोले उनको उम्मेदवारी आयोगबाट खारेज भएको हो । रास्वपाले भने साहलाई आम नागरिकको हितलाई प्राथमिकतामा दिने, पारदर्शी र सहभागी नेतृत्वकर्ताको रुपमा चिनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *