October 11, 2026

परदेशी नेपालीको पीडा बोकेको तीज गीत ‘परदेशीको पीडा’ सार्वजनिक

0
pardeshi

नेपाल दर्पण, काठमाडौं ।

विदेशमा रहेका नेपालीहरूको पीडा, संघर्ष, परिवारप्रतिको सम्झना र परदेशी जीवनको यथार्थलाई समेटिएको नयाँ तीज गीत ‘परदेशीको पीडा’ आज रामजी पौडेल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। विदेश पुगेपछि सोचेजस्तो जीवन नपाउँदा कठिन संघर्ष, एक्लोपन, आर्थिक समस्या तथा परिवारबाट टाढिनुपर्दाको पीडा भोगिरहेका लाखौं नेपालीको भावनालाई यो गीतले तीजको परिवेशसँग जोडेको छ।

यो गीत करिब दुई साताअघि नै सार्वजनिक गर्ने तयारी गरिएको भए पनि रसुवामा आएको बाढी तथा त्यसबाट भएको ठूलो जनधनको क्षतिपछि देश–विदेशमा शोक र पीडाको अवस्था सिर्जना भएकाले सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको निर्माण पक्षले जनाएको छ। देश संकटमा परेको र हजारौं नेपाली पीडा तथा शोकमा रहेका बेला गीत सार्वजनिक गर्न मनले नमानेपछि गीतको सार्वजनिक समय पछि सारिएको निर्माण पक्षको भनाइ छ। प्राकृतिक विपत्तिलाई कसैले रोक्न नसक्ने भन्दै अवस्था बिस्तारै सामान्य बन्दै जाने विश्वासका साथ तयार अवस्थामा रहेको सिर्जनालाई अब तीजको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो। निर्माण पक्षले गीतले उचित स्थान पाओस् र विदेशमा रहेका नेपालीको भावना तथा पीडालाई संगीतमार्फत स्वदेशसम्म पुर्‍याउन सकोस् भन्ने उद्देश्यले सार्वजनिक गरिएको जनाएको छ।

https://youtu.be/mopO8WVmvdo

गीतमा लोकदोहोरी गायक रामजी पौडेल र लोकदोहोरी गायिका पार्वती जी.सी. को स्वर रहेको छ। गीतमा वीरेन्द्र पौडेलको शब्द, रामजी पौडेलको संगीत तथा तारानाथ आचार्यको संगीत संयोजन रहेको छ। गीतको रेकर्डिङ पोखरास्थित डिजिटल स्टार स्टुडियोमा गरिएको हो भने अडियो मिक्सिङ काठमाडौंस्थित मालाश्री स्टुडियोमा गरिएको छ। गीतको भिडियोको निर्देशन तथा कोरियोग्राफी हरिश विश्वकर्माले गरेका छन्। भिडियोको छायांकन तथा सम्पादन भीमराज पार्की र महेन्द्र खड्काले गरेका छन्। भिडियोमा हरिश विश्वकर्मा, दिपेश आग्री, रवि परियार, दिनेश शिङ, विष्णु तमाट्टा, कुसुम सिंह, कुसुम भट्ट, चन्द्र विश्वकर्मा, रिया पोखरेल, अस्मिता तिरुवा, लक्ष्मी महत तथा प्रतिभा खत्री र टिमको अभिनय रहेको छ।

भिडियोको पोस्ट प्रोडक्सन आर.एस. फिल्म, मुम्बईले गरेको छ। तीज भन्नासाथ माइतीघर, चेलीबेटी, भेटघाट, दर खाने परम्परा र उल्लासपूर्ण क्षणको सम्झना आउने गर्छ। तर विदेशिएका नेपालीका लागि तीज आफ्नो परिवार, गाउँघर र मातृभूमिको सम्झनासँगै भावनात्मक पीडा बोकेर आउने पर्व पनि बन्ने गरेको छ। ‘परदेशीको पीडा’ ले यही भावनात्मक यथार्थलाई संगीतमार्फत प्रस्तुत गरेको छ। गीतको अडियो तथा भिडियो रामजी पौडेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। विशेषगरी तीजका बेला माइतीघर, परिवार, गाउँघर र मातृभूमिको सम्झनामा भावुक हुने प्रवासी नेपाली तथा चेलीबेटीको भावनासँग गीत जोडिने अपेक्षा गरिएको छ। निर्माण पक्षले गीत सुनेर माया, साथ तथा प्रतिक्रिया दिन दर्शक–श्रोतासँग आग्रहसमेत गरेको छ। तीजको उत्सवमय वातावरणमा परदेशिएका नेपालीको मनभित्र लुकेको कथा र पीडालाई संगीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको ‘परदेशीको पीडा’ ले प्रवासी नेपालीको मन छुने विश्वास गरिएको छ। परदेशीको पीडा’ सम्पूर्ण विदेशमा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति समर्पित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *