October 11, 2026

गौरीकुमारीको स्थानमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री बने साह

0
dshsh

नेपाल दर्पण, काठमाडौं ।

मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि उनको स्थानमा प्रधानमन्त्री बालेन शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रीको रुपमा दीपक साहलाई नियुक्त गरेका छन । साह सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित सांसद हुन । बिहीबार (भदौ २५) गौरीकुमारी यादवले राजीनामा दिएपछि उनी नियुक्त भएका हुन ।

साह प्राविधिक विज्ञता भएका व्यक्ति हुन् । सांसद साहले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयको प्रतिष्ठित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा प्रथम श्रेणीमा स्नातक हासिल गरेका थिए । उनले हालै सन् २०२५ मा नेपाल खुला विश्वविद्यालयबाट ‘नेचुरल रिसोर्स डेभलपमेन्ट’ विषयमा प्रथम श्रेणीमै स्नातकोत्तर उपाधि प्राप्त गरेका छन् । उनको यो शैक्षिक योग्यताले मुलुकको प्राकृतिक स्रोत र साधनको परिचालनमा विशेषज्ञता राख्ने स्पष्ट पार्दछ ।

साह राजनीतिक यात्राका क्रममा भने सर्वोदय पार्टी र जनस्वराज पार्टीको अध्यक्षको रूपमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । पछिल्लो समय सिके राउत नेतृत्वको जनमत पार्टीको उपाध्यक्षको रूपमा क्रियाशील रहँदै उनले आफ्नो राजनीतिक उचाई बढाएका थिए । २०८२ फागुन २१ गतेको निर्वाचनमा भने उनी सुनसरी–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका थिए । जलविद्युत् क्षेत्रको लामो अनुभव र उच्च शैक्षिक योग्यता बोकेका साह उद्योगमन्त्री बनेसँगै नीति निर्माणको तहमा आफ्नो योग्यतालाई कसरी प्रयोग गर्छन् त्यो भने अब परीक्षणमा रहनेछ ।

बुधबार (भदौ २४) बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा यादवले ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिप्रति उद्योग–व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाले आपत्ति जनाएका थिए पछि उनले राजिनामा दिएर मार्ग प्रस्तत गरेपछि साह उनको स्थानमा आएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *