उपसभामुखले दिइन पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी

नेपाल दर्पण, काठमाडौं ।
उपसभामुख रुबीकुमार ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । जनआस्था साप्ताहिकमा आफ्नोबारेमा गलत समाचार प्रकाशित गरेको भन्दै उनले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन् ।
जाहेरी दर्ता भने नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जाहेरी अध्ययन गर्ने काम भइरहेको छ । प्रहरी परिसर, ललितपुरका एसएसपी तुलबहादुर कार्कीले जाहेरी दर्ता भएको जानकारी दिए । श्रेष्ठ यसअघि दीपिका सिंहको जाहेरीमा पक्राउ परेका थिए । आज सर्वोच्चले उनलाई रिहा गर्ने आदेश दिएको छ । पत्रकार श्रेष्ठलाई आजै सर्वोच्च अदालतले रिहाइ गर्न परमादेश जारी गरेको छ ।
उता, सोमबार राति प्रहरी हिरासतबाट निस्कँदै पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको बताएका छन् । उनले जनआस्थामा प्रकाशित समाचार गलत भए राज्यले कानुनी प्रक्रियामार्फत त्यसको खण्डन गर्न कानुनी व्यवस्था हुँदाहुँदै सरकार स्वयंले आफूमाथि पात्र खडा गरी प्रतिशोध साँधेको आरोप लगाए । उनले सरकारले जनआस्थाविरुद्ध विभिन्न व्यक्तिलाई प्रयोग गर्ने र मुद्दा थप्दै गएर आफ्नो आवाज बन्द गर्ने खेल खेलिरहेको बताए । राज्यको निरंकुशता र जंगलीतन्त्रविरुद्धको लडाइँ जारी रहेको उनको भनाइ छ ।
