नेपालमा कम्युनिस्ट आन्दोलन मरिसक्यो नेताहरू मात्रै बाँकीःजनार्दन शर्मा

नेपाल दर्पण, काठमाडौं ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले नेपालमा कम्युनिस्ट आन्दोलन मरिसकेको बताएका छन । सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेता शर्माले नेपाली कम्युनिस्ट आन्दोलन अहिले वैचारिक रूपमा अलमल, राजनीतिक रूपमा गञ्जागोल र सांगठनिक रूपमा नोकरशाहीतन्त्रमा परिणत भइसकेको टिप्पणी गर्दै वैचारिक, राजनीतिक र सांगठनिक रूपमा विघटित भइसकेको भन्दै त्यसको पुनर्गठनको लागि नयाँ अभियान आवश्यक रहेको बताएका छन् । यस्तो अवस्थामा आन्दोलनलाई पुनर्जीवित गर्न व्यापक पुनर्गठन अपरिहार्य रहेको उनको भनाइ छ ।
“मलाई लाग्दैन यहाँ अहिले कम्युनिस्ट आन्दोलन जीवित छ । कम्युनिस्ट आन्दोलनमा लागेका नेताहरू मात्रै बाँकी हो हामी । हामीलाई समर्थन गरेका जनता र हामी मात्रै बाँकी हो । कम्युनिस्ट आन्दोलन विघटन भइसकेको छ,“ उनले भने । शर्माले एक समय देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूसँग करिब ७० प्रतिशत जनसमर्थन रहेको उल्लेख गर्दै अहिले त्यो आधार उल्लेखनीय रूपमा खस्किएको बताए ।
