एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ३ दिन थुनामा राख्न म्याद थप

नेपाल दर्पण, काठमाडौं ।
विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि अनुसन्धान गर्न ३ दिनको म्याद थप गरेको छ । म्याद थप प्रयोजनका लागि सोमबार पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले ३ दिन थुनामा राख्न म्याद थप गरेको हो ।
पौडेलका कानुन व्यवसायी समेत रहेका विशेष अदालत बारका अध्यक्ष टिका कुँवरले दुईतर्फी बहस सकिएपछि इजलासबाट तीन दिन थुना म्याद थप्न आदेश भएको बताएका छन । अर्थमन्त्री रहेका बेला व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि अनुसन्धान गरिरहेको छ । यसअघि पौडेललाई गत असार ९ गते ७ दिन थुना म्याद थपिएको थियो । पौडेलपत्नी दोमाया पौडेलले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले विभाग र प्रहरीसँग लिखित जवाफ माग गरेको छ । पौडेल गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए । उनलाई नेपालगञ्ज हँुदै सार्वजनिक साधनमा काठमाडौं ल्याइएको थियो ।
