ओली, प्रचण्ड, नेपाल र खनाल मिलेको देखेर हर्कको जाग्यो बालेनसँग मिल्ने रहर !

नेपाल दर्पण, काठमाडौं ।
मदन भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगै चार पूर्वप्रधानमन्त्रीहरू एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ , सह–संयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल एकै मञ्चमा देखिएपछि झस्किएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहसँग मिल्ने संकेत गरेका छन् ।
पछिल्लो समय निरन्तर संसद र फेसबुकमा बालेनको खेदो खन्दै आएका हर्कले फेसबुकमा लेखेका छन्, ‘प्रचण्ड र केपी ओली मिल्दा अचम्म नमान्ने जनताले हर्क साम्पाङ र बालेन मिले भन्ने खबर आए कतिको अचम्म मान्लान् त ?’प्रतिनिधिसभाका पछिल्ला बैठकमा जब बैठक सुरु हुन्छ तब हर्क कहिले पर्चा र प्ले कार्ड देखाउँछन् । कहिले ती प्ले कार्डमा लेखिएका नारा पढ्छन् । कहिले सभामुखसँग समय नै नमागेर सरकारलाई प्रश्न गर्दै आएका उनी प्रधानमन्त्री बालेन र बालेनको अभिव्यक्तिको विरोध गर्दै आएका छन् ।
सभामुख डोलप्रसाद अर्याल आफ्नो आसनबाट प्रतिनिधिसभा नियमावलीका नियम देखाउँछन् । संसदीय मर्यादा सम्झाउँछन् । तर, श्रम संस्कृति पार्टीका संसदीय दलका नेता समेत रहेका हर्क मान्दैनन् । सभामुखले माइक दिए पनि नदिए पनि आफ्ना कुरा राखेर सरकारको विरोध गर्दै आएका छन् ।
