July 22, 2026

पूर्वराष्ट्रपतिसँगै ४ पूर्व प्रधानमन्त्रीहरु एकै मञ्चमा, वामपन्थी एकताको सन्देश !

0
4pm

नेपाल दर्पण, काठमाडौं ।
मदन भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा चार पूर्वप्रधानमन्त्रीहरू एकै मञ्चमा देखिएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ , सह–संयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल एकै मञ्चमा देखिएका हुन ।

मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष तहका नेताहरू सहभागी हुदा यो दृश्यलाई वामपन्थी एकताको दृष्टिले चासोका साथ हेरिएको छ । तत्कालै पार्टी एकताको सम्भावना नरहे के यिनीहरु फेरि एक हुन लागेका हुन भन्ने आकलन गर्न लागिएको छ ।

उक्त कार्यक्रमलाई सम्बोध गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अहिलेको ‘प्रतिगमन’ लाई पराजित गर्नुपर्ने विचार व्यक्त गरेका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले अहिले समाजवाद निर्माण गर्ने भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको टिप्पणी गरे । उनले वामपन्थीको चरित्र हत्या गर्ने काम भइरहेको बताए । उनले कम्युनिस्टहरूका नीति सहि भएको दाबी पनि गरे ।

यस्तै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छिटोभन्दा छिटो वामपन्थी एक हुनुपर्ने र ढिला गर्नु गल्ती हुने बताए । “हामी ढिलो नगरीकन भन्न चाहन्छु– राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, फासिजमका विरुद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्तिहरू एक हुनुपर्छ । ढिला गर्नु गल्ती हुन्छ,” उनले भने । आफ्नो राजनीतिक यात्रामा ‘क्रमभंग’ गरिरहने स्वभावलाई स्मरण गर्दै दाहालले आगामी महाधिवेशनबाट फेरि नयाँ क्रमभंग हुने उद्घोष पनि गरेका थिए । उनले यसलाई आफ्नो जीवनको ‘अन्तिम क्रमभंग’ भन्दै यसका लागि कार्यकर्ताहरूलाई तयार रहन आग्रह गरेका थिए ।

यसैगरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भावनाको कुराले मात्रै कम्युनिस्टबीच एकता सम्भव नरहेको बताएका छन् । उनले मदन भण्डारीको अभिव्यक्ति उद्धृत गर्दै भने, “कुराले चिउरा भिज्नेवाला छैन । चिउरा भिजाउनका लागि कि त दही नै चाहिन्छ कि त दूध नै चाहिन्छ ।” एकताको लागि पहिला मन मिल्नुपर्ने भनाइ सहसंयोजक नेपालको छ ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थी एकता आजको आवश्यकता भएको बताएका छन् । उनले कम्युनिस्ट आवश्यकता विगतदेखि नै भए पनि बीचमा ‘सिङजुरो’ पलाएर रोकिएको टिप्पणी गरे । उनले अब एकताको बाध्यात्मक अवस्था आएको औँल्याए । “हामी वामपन्थीहरू फेरि एकताबद्ध हुँदै छौँ । कम से कस आज विचार गोष्ठीमा एकताबद्ध भयौँ । अब यही दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपले अघि बढाउने कामको थालनी गरौँ,” उनले भने । उनले ‘वामपन्थी एकता जिन्दाबाद’को नारा लगाउन समेत लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *