प्रहरीको सहयोगमा सुकुमवासीले आफै सारे समान, मानव अधिकार टोली पनि फिल्डमा
नेपाल दर्पण, काठमाडौं ।
थापाथलीमापछि भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुमबासी बस्तीका सुकुमवासीहरु आफै धमाधम समान सार्न थालेका छन । हिजो ढुंगामुढा भए पनि आज भने सुकुमबासीहरु आफै समान सारिरहेका छन् । यस कार्यमा नेपाल प्रहरीले पनि सघाइरहेको छ । यस क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए ।
मनोहरामा डोजरमाथि एक समूहले ढुंगामुढा गरी प्रहरीसमेतलाई घाइते बताएका थिए । स्थानीयको प्रतिकारपछि डोजरसहितको टोली फर्किए पनि आज सो क्षेत्र खाली गर्ने सरकारको तयारी छ । सरकारले शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट सुकुमवासीलाई हटाइएको थियो । उनीहरुलाई नेपाल प्रहरी र नगर प्रहरीको टोलीले नागार्जुन, कीर्तिपुरको सत्संग भवन लगायतका स्थानमा लगेर राखेको छ ।
अहिले उक्त स्थानहरुमा सुकुमवासीको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली फिल्डमा खटिएको छ । आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न आज बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेको छ । उनीहरुलाई हटाउँदा मानव अधिकार हनन भएको आरोप समेत लाग्ने गरेकाले मानव अधिकार आयोगको टोली अनुगमनका लागि खटिएको हो । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सुकुमवासीहरुको अवस्था बुझ्न आयोगको टोली खटिएको जानकारी दिए । आयोगले अतिक्रमित जग्गाका घर टहरा खाली गराउने क्रममा अत्यधिक बल प्रयोग नगर्न र संयमित हुन पनि निर्देशन दिएको थियो ।
