October 11, 2026

बाढी, पहिरो र नदीहरूको उच्च बहावका कारण जनजीवन अस्तव्यस्त

0
badhi

नेपाल दर्पण, काठमाडौं ।

अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र नदीहरूको उच्च बहावका कारण जनजीवन प्रभावित भएको छ । पहाडमा भीषण पहिरो र तराईमा डुबानले ५४ वटा सडक खण्ड अवरुद्ध भई हजारौं यात्रुबीच बाटोमै अलपत्र परेका छन् । कोशी र नारायणी नदीमा जलस्तरले खतराको तह पार गरेपछि ब्यारेजका ढोका खोलिएका छन् भने उच्च जोखिममा रहेका २५ जिल्लामा सवारी सञ्चालन पूर्णरूपमा बन्द गरिएको छ ।

नेपाल प्रहरीको पछिल्लो विपद् तथ्यांक र विभिन्न सडक विभागको विवरणअनुसार देशभरका प्रमुख राजमार्गहरू ठाउँ–ठाउँमा अवरुद्ध भएपछि यातायात सेवा ठप्प भएको छ । नागरिकहरूलाई गन्तव्यमा पुग्न ठूलो सास्ती थपेको छ । बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार नारायणी नदीमा खतराको तह ९ मिटर मानिएकामा हाल जलसतह करिब ११ मिटर पुगिसकेको छ र यो अझै बढ्दो क्रममा छ ।

बाढी र पहिरोका कारण काठमाडौं उपत्यकासहित कोशी र बागमती प्रदेशका विभिन्न जिल्लामा सडक यातायात प्रभावित भएको छ । धादिङको कृष्णभिर र तिङग्राङखानीमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर र बेनीघाट रोराङ गाउँपालिका–१० को तिङग्राङखानीमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्णरुपमा अबरुद्ध भएको हो ।

कालीगण्डकी बाढीले म्याग्दी, पर्वत, बागलुङलगायत जिल्लाका तटीय क्षेत्रमा विभिन्न स्थानमा कटान गरेको छ । गएरातिदेखि कालीगण्डकीमा जलसतह बढेपछि सर्वसाधारणमा त्रास बढेको छ । यस्तै विदेशी पर्यटकले भरिभराउ रहेको उत्तरी गोरखाको चुमनुब्री १ सामागाउँमा पहिरो आएको छ । रातमा पहिरो झरेपछि सामागाउँका बासिन्दा तथा विदेशी पर्यटकहरु उठेर सुरक्षित ठाउँ खोज्दै गएका छन । बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश भूभागमा बिहीबारदेखि लगातार वर्षा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *